बुटवल,२० असार । बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गतको ‘हाम्रो बुटवल’ पुस्तक विद्यार्थीलाई निःशुल्क वितरण गरेको छ । उपमहानगरपालिकाले नगरभित्रका कक्षा १ देखि ५ सम्म अध्ययनरत २४ हजारभन्दा बढी विद्यार्थीलाई पुस्तक निःशुल्क वितरण गरेको हो ।
यस वर्षदेखि पहिलोपटक संस्थागत विद्यालयका विद्यार्थीलाई पुस्तक निःशुल्क प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । शुक्रबार उपमहानगरपालिकामा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई पुस्तक हस्तान्तरण गर्दै वितरण अभियानको औपचारिक शुभारम्भ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेयले बुटवलको शैक्षिक गुणस्तर सुधारलाई उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको बताए । बुटवल उपमहानगरपालिकाको शिक्षा तथा सामाजिक विकास महाशाखाका प्रमुख मित्रमणि खनालका अनुसार नगरभित्र सञ्चालित ५३ वटा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १७ हजार ७५ थान तथा ३४ वटा सामुदायिक विद्यालय, ४ वटा मदरसा र १ वटा गुरुकुलमा अध्ययनरत विद्यार्थीका लागि करिब ७ हजार ५३ थान पुस्तक वितरण गरिनेछ ।
यससँगै कुल २४ हजारभन्दा बढी विद्यार्थीले निःशुल्क रूपमा स्थानीय पाठ्यक्रमको पुस्तक प्राप्त गर्नेछन् । पुस्तक हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भिडियो रिर्पोट





















