Spread the love

काठमाडौं ।
विश्वकप फुटबलमा बुधबार दुई युरोपेली टोली इङ्ग्ल्यान्ड र बेल्जियमले फरक–फरक शैलीमा अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । इङ्ग्ल्यान्डले कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा पुनरागमन जित निकाल्दा बेल्जियमले लगभग हार निश्चित देखिएको खेललाई अन्तिम क्षणमा आफ्नो पक्षमा पार्दै विश्वकपकै सबैभन्दा रोमाञ्चक जितमध्ये एक दर्ता गरेको हो ।

मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा इङ्गल्यान्डले कंगोलाई २–१ ले पराजित गर्दै नकआउट चरणको यात्रा तय गरेको हो । खेलको सुरुआत भने इङ्गल्यान्डका लागि सुखद रहेन । पहिलो हाफमा ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई अप्रत्याशित अग्रता दिलाएपछि विश्व फुटबलकै बलियो टोली दबाबमा परेको थियो ।

दोस्रो हाफमा कप्तान ह्यारी केनले आफ्नो अनुभव र नेतृत्व प्रस्तुत गरे । उनले हेडमार्फत बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । खेल सकिन चार मिनेट बाँकी रहँदा केनले माथिल्लो कुनामा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि इङ्ग्ल्यान्डले २–१ को रोमाञ्चक जित हात पारेको हो ।

विश्वकप इतिहासकै ठूलो अपसेटको सम्भावनाबाट जोगिएको इङ्गल्यान्ड अब अन्तिम १६ मा सह–आयोजक मेक्सिकोसँग आइतबार मेक्सिको सिटीमा भिड्नेछ । सन् १९६६ को विश्वविजेता इङ्गल्यान्डका लागि कप्तान केन फेरि एकपटक संकटमोचक सावित भएका छन् ।

यता सियाटलमा भएको अर्को रोमाञ्चक खेलमा बेल्जियमले सेनेगलविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित निकालेको छ । सेनेगलले सुरुआती प्रदर्शनमा प्रभाव जमाउँदै २–० को अग्रता बनाएको थियो । खेल समाप्त हुन केही मिनेट मात्र बाँकी रहँदा बेल्जियम लगभग प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । तर ८६ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै आशा जगाए भने ८९ औँ मिनेटमा युरी टिलेमान्सले बराबरी गोल गरेसंगै खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको इन्जुरी समयमा दायाँ विङबाट आएको क्रस रोक्ने क्रममा सेनेगलका लामिने कामाराले फाउल गरेको भन्दै बेल्जियमले पेनाल्टीको माग गरेको थियो । भिडियो सहायक रेफ्री (भीएआर) ले घटनाको समीक्षा गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

१२५ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई युरी टिलेमान्सले कुनै गल्ती नगरी गोलमा परिणत गरेपछि बेल्जियमले ३–२ को ऐतिहासिक जित निकाल्यो । खेलभर अवसर सिर्जना गरे पनि केही अवसर गुमाएको बेल्जियमले अन्ततः धैर्य र संघर्षको बलमा अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो । विश्वकपको नकआउट चरण नजिकिँदै जाँदा इङ्गल्यान्ड र बेल्जियम दुवैले दबाबपूर्ण अवस्थामा उत्कृष्ट मानसिकता प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदार टोलीका रूपमा पुनः स्थापित गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्