Spread the love

बुटवल, १८ कार्तिक ।
सामुदायिक विद्यालयहरूमा पछिल्लो समय एउटा नौलो तर प्रभावकारी अभ्यास सुरु भएको छ । एजुकेशनल पेजेजको संयोजनमा स्थानीय तहहरूले विद्यालयमार्फत अभिभावककहाँ ‘अभिभावक प्रतिबद्धता पत्र’ पठाउने अभियान चलाएका छन् । यसले विद्यालय, शिक्षक र अभिभावकबीचको दूरीलाई मात्र घटाएको छैन, बालबालिकाको पठनपाठन, स्वास्थ्य र उत्तरदायित्वमा समेत सकारात्मक परिवर्तन ल्याउने संकेत देखाएको छ ।

महाराजगञ्ज नगरपालिकाले नियमित प्रधानाध्यापक (प्रअ) बैठकमा यो प्रतिबद्धता पत्र वितरण शुरु गरेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख जगत गाहा मगरका अनुसार शैक्षिक सुधारका लागि तयार पारिएको यो प्रतिबद्धता पत्र कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीमार्फत अभिभावक समक्ष पु¥याइएको हो ।

पत्रमा उल्लेखित कुराहरूमा अभिभावकहरूले ‘सक्छु’, ‘सक्दिन’ वा ‘प्रयास गर्छु’ भन्ने विकल्पमा आफ्नो प्रतिबद्धता जनाउने व्यवस्था मिलाइएको छ । अभिभावकबाट प्राप्त प्रतिक्रिया र प्रतिबद्धता पत्रलाई गुगल लिंकमा डिजिटल्ली अपलोड गरिनेछ भने यसको हार्ड कपि विद्यालयमै सुरक्षित राखिनेछ । पछि नतिजा प्रकाशनका बेला र अभिभावक भेलामा यस विषयमा छलफल गरी सुधारात्मक कदम चालिने योजना नगरपालिकाको छ । यसबाट बालबालिकाको शैक्षिक, शारीरिक स्वास्थ्य, सुरक्षा र मानसिक स्वास्थ्यका विषयमा अभिभावकले कसरी हेरचाह गरिरहेका छन् भन्ने जानकारी प्राप्त हुने र समस्या भए समाधान गर्दै जाने बाटो खुल्नेछ ।

यसै अभियानअन्तर्गत महाराजगञ्ज नगरपालिका–१ बगहियास्थित दुर्गा भवानी कन्या माविले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीमार्फत अभिभावककहाँ प्रतिबद्धता पत्र पठाएको छ । विद्यालयबाट यसरी पत्र पठाउने चलन यसअघि नभएका यहाँका शिक्षक, विद्यार्थी बताउँछन् । विद्यार्थीहरूले अभिभावकको हस्ताक्षर गराएर पत्र फिर्ता ल्याउन थालेपछि अभिभावकहरूमा नयाँ चेतना र जिम्मेवारीको बोध हुन थालेको छ ।
विद्यालयकी प्रधानाध्यापक चन्द्रकला चौधरीका अनुसार यो पत्रले अभिभावकहरूलाई आफ्ना बालबालिकाप्रति गर्नुपर्ने कर्तव्य र जिम्मेवारी बोध गराएको छ । ‘अभिभावकहरू खुसी भएर विद्यालयमै आएर बुझ्ने र आफ्ना नानीबाबुहरूको शिक्षामा ध्यान दिन थाल्नुभएको छ,’ प्रअ चौधरी भन्छिन्, ‘यसले विद्यार्थीको शैक्षिक गुणस्तर बढाउनुका साथै पौष्टिक खाना, हिंसा तथा दुव्र्यवहारबाट बचाउने उपायहरूबारे सचेत गराएको छ ।’

कक्षा ९ मा अध्ययनरत मधु चौधरीका अभिभावकले पनि पत्र पाएपछि निकै खुसी हुँदै त्यसमा उल्लेखित कुराहरू पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘एउटा असल अभिभावकले गर्नुपर्ने कर्तव्यबारे जानकारी पाउँदा मेरा अभिभावक खुसी हुनुभयो,’ मधु भन्छिन्, ‘यस्ता कुराहरूले हाम्रो शैक्षिक, सामाजिक र पारिवारिक जीवन सुधार्न ठूलो मद्दत गर्छ ।’ सुशीलादेवी कुर्मी र अन्जिता कुर्मीजस्ता अभिभावकहरू पनि चिठी पाएपछि आफ्नो जिम्मेवारी अझ बढेको महसुस गर्दै बालबालिकाको पठनपाठन र खर्च जुटाउन थप मेहनत गर्ने कुरा जानकारी पाएको बताउँछन् ।

त्यस्तै, महाराजगञ्ज–३ जमुनीस्थित राधेश्याम आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दलाल चौधरी यो पत्रले विद्यार्थी, विद्यालय र अभिभावकबीच पुलको रूपमा काम गरेको बताउँछन् । पहिले घर र कृषिकर्ममा बढी व्यस्त गराउने अभिभावकहरू अहिले पत्रमा हस्ताक्षर गरेपछि घरमा पनि पढ्ने वातावरण बनाउन, समयमै खाना र शैक्षिक सामग्री दिन थालेका छन् । फोकल शिक्षक रणजीतकुमार यादव तथा विद्यार्थीहरू जगनन्दनी यादव र सुरज कुर्मी पनि यसले अभिभावकहरूलाई बालमैत्री व्यवहार गर्न र घरमा पढाइमा सघाउन सचेत गराएको अनुभव सुनाउँछन् ।
एजुकेशनल पेजेजको संयोजनमा सुरु भएको यो अभियानले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई सुदृढ बनाएकोमा महाराजगञ्ज नगरपालिकाका शिक्षा शाखा प्रमुख जगत गाहा मगर खुसी व्यक्त गर्छन् ।

‘असोज दोस्रो साताको प्रअ बैठकबाट वितरण गरी कक्षा ८ देखि १२ सम्मका विद्यार्थीमार्फत अभिभावकसम्म पु¥याइएको यो प्रतिबद्धता पत्र शैक्षिक सुधारका लागि ल्याइएको हो,’ शिक्षा शाखा प्रमुख गाहा मगर भन्छन्, ‘अभिभावकहरूले सक्छु, सक्दिन वा प्रयास गर्छु भनेर दिएको प्रतिबद्धतालाई गुगल लिंकमा अपलोड गर्नुका साथै हार्ड कपि विद्यालयमा राखिनेछ । पछि नतिजा प्रकाशन र अभिभावक भेलामा यसबारे छलफल गरी सुधारात्मक काम गरिनेछ। विद्यार्थीको शैक्षिक, स्वास्थ्य, सुरक्षा र मानसिक स्वास्थ्यका सवालमा अभिभावकको भूमिका कस्तो छ र के–कस्ता समस्या छन् भन्ने जानकारी यसबाट प्राप्त भई शैक्षिक सुधारका काम थप प्रभावकारी हुनेछन् ।’

एजुकेशनल पेजेजकी प्रदेश संयोजक सावित्रा चौधरीका अनुसार अभियान शिक्षा विभाग, स्थानीय तह र युनिसेफको सहकार्यमा लुम्बिनी प्रदेशका सात जिल्लाका २७ वटा स्थानीय तहमा संचालन गरिएको छ । अभिभावकको हातमा पुगेको यो ‘प्रतिबद्धता पत्र’ ले कपिलवस्तुका सामुदायिक विद्यालयहरूमा अभिभावकलाई आफ्ना बालबालिकाप्रति थप जिम्मेवार बनाउँदै लगेको छ । यसले बालबालिकाको घर र विद्यालयको सिकाइ वातावरणलाई जोड्दै उनीहरूको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

">
Bajaj Grand Exchange Mela