Spread the love

लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक, शैक्षिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित बुटवल प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधताले भरिपूर्ण सहर हो । नेपालको पश्चिम क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको बुटवलले पछिल्ला वर्षहरूमा पर्यटनका दृष्टिले पनि उल्लेखनीय पहिचान बनाउँदै आएको छ । यहाँबाट छोटो समयमै पुग्न सकिने अनेकौँ प्राकृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गन्तव्यहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन् ।

बुटवलको पहिचानसँग जोडिएको प्रमुख स्थल हो– मणिमुकुन्द सेन उद्यान (बुटवल फुलबारी) । पाल्पाका सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार परिसर रहेको यस स्थानले ऐतिहासिक महत्व बोकेको छ । हरियाली वातावरण, शान्त परिवेश, पुरातात्त्विक अवशेष तथा मनोरम बगैँचाका कारण यो स्थान घुम्न, अध्ययन गर्न र मनोरञ्जनका लागि उपयुक्त मानिन्छ । विशेष गरी बिहान र साँझको समयमा यहाँ आन्तरिक पर्यटकको उल्लेख्य भीड लाग्ने गर्दछ ।

बुटवल नजिकै रहेको अर्को आकर्षण हो पाल्पा जिल्ला तिनाउ गाउपालिकामा रहेको सिद्धबाबा क्षेत्र । तिनाउ नदीको किनारमा रहेको यो धार्मिक स्थल हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। यहाँ दर्शन गर्न नेपालका विभिन्न जिल्लाहरु तथा छिमेकी देश भारतबाट समेत भक्तजन आउने गर्छन् । सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने अधिकांश यात्रुले पनि यस स्थानमा पुगेर दर्शन गर्ने परम्परा रहेको छ । प्राकृतिक सौन्दर्य र धार्मिक महत्वको समिश्रणले यस क्षेत्रलाई अझ विशेष बनाएको छ ।

बुटवलबाट नजिकै रहेको पाल्पा जिल्लाकै अर्को महत्त्वपूर्ण गन्तव्य नुवाकोटगढी हो, जुन इतिहासप्रेमीका लागि महत्वपूर्ण गन्तव्य हो । पाल्पाका सेन राजाहरूले निर्माण गरेको यो गढी नेपालको एकीकरणकालीन इतिहाससँग जोडिएको छ । यहाँबाट बुटवल उपत्यका, तिनाउ नदी तथा आसपासका पहाडी दृश्यहरू र समथर तराई अवलोकन गर्न सकिन्छ । इतिहास, संस्कृति र प्राकृतिक दृश्यको अनुपम संगमका रूपमा नुवाकोटगढी परिचित छ ।

प्राकृतिक पर्यटनमा रुचि राख्नेहरूका लागि तिनाउ नदी र यसको किनार आकर्षक गन्तव्य हुन्। नदी किनारमा घुमफिर, पिकनिक तथा मनोरञ्जनका गतिविधि सञ्चालन हुँदै आएका छन् । वर्षायाममा नदीको बहाव र हिउँदमा देखिने शान्त वातावरणले फरक–फरक अनुभव प्रदान गर्छ । भविष्यमा नदी किनारको व्यवस्थित विकास गर्न सकिए बुटवलको पर्यटनमा थप योगदान पुग्ने देखिन्छ ।

बुटवलबाट करिब एक घण्टाको दूरीमा रहेको हिलपार्क पर्यटकहरूको अर्को लोकप्रिय गन्तव्य हो । हरियाली वन, मनोरम दृश्य, बाल उद्यान तथा परिवारसँग समय बिताउन उपयुक्त वातावरणका कारण यो स्थान विशेष गरी आन्तरिक पर्यटकबीच लोकप्रिय छ । यहाँबाट बुटवल सहरको सुन्दर दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

बुटवलको पर्यटनलाई अझ समृद्ध बनाउने अर्को महत्वपूर्ण पक्ष हो यसको भौगोलिक अवस्थिति । बुटवलको हिलपार्क, शिवनगर सामुदायिक वन क्षेत्र, गौशाला, बैठोलिया ताल, मिलन पार्क लगायत बुटवलबाट विश्वप्रसिद्ध लुम्बिनी, ऐतिहासिक पाल्पा (तानसेन), धार्मिक स्थल सुपा देउराली, रमणीय रामापिथेकस पार्क,देवदह लगायतका गन्तव्यमा सहज रूपमा पुग्न सकिन्छ । त्यसैले बुटवल केवल आफैँमा पर्यटन गन्तव्य मात्र नभई पश्चिम नेपालको पर्यटन यात्राको प्रमुख केन्द्रका रूपमा पनि विकसित हुँदै गएको छ ।

खानपानका दृष्टिले पनि बुटवल निकै समृद्ध छ । यहाँ नेपाली, नेवारी, थारू, मगर लगायत विभिन्न समुदायका परिकार सहज रूपमा स्वाद लिन सकिन्छ । आधुनिक होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफेहरूको विस्तारले पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराइरहेको छ । साथै स्थानीय बजारमा हस्तकला, कृषि तथा घरेलु उत्पादनहरू पनि सहज रूपमा प्राप्त हुन्छन् ।

बुटवलमा वर्षभरि विभिन्न सांस्कृतिक तथा धार्मिक पर्वहरू उल्लासका साथ मनाइन्छन् । दशैं, तिहार, होली, माघे सङ्क्रान्ति, बुद्ध जयन्ती लगायतका पर्वहरूले यहाँको सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई झल्काउँछन् । यस्ता पर्वहरू पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपूर्ण अवसर बन्न सक्छन् ।

पर्यटनको दिगो विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र तथा समुदायबीचको सहकार्य आवश्यक छ। ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण, पर्यटकीय पूर्वाधारको विस्तार, सूचना केन्द्रको स्थापना, पदमार्ग विकास, सरसफाइ तथा प्रचार–प्रसारलाई प्राथमिकता दिन सके बुटवलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझ बलियो पहिचान बनाउन सक्छ ।

प्राकृतिक सम्पदा, ऐतिहासिक विरासत, धार्मिक आस्था, सांस्कृतिक विविधता र आधुनिक शहरी सुविधाको सुन्दर संगमका रूपमा बुटवलले पर्यटनको क्षेत्रमा उज्ज्वल सम्भावना बोकेको छ । यहाँ आउने जो–कोहीले प्रकृति, इतिहास, संस्कृति र आतिथ्यको अनुपम अनुभव प्राप्त गर्न सक्छन्। त्यसैले बुटवल केवल व्यापारिक सहर मात्र नभई घुम्न, सिक्न र नयाँ अनुभव बटुल्न उपयुक्त आकर्षक पर्यटन गन्तव्य पनि हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्