बुटवल, १७ असार ।
पदमुक्तिको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका वडा अध्यक्ष विष्णु ढकालले अदालतबाट अन्तरिम आदेश पाएपछि पुनः आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित ढकालले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतले आफूलाई वडा अध्यक्षको पद तथा कामकाजमा निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको जानकारी दिएका हुन् ।
गठबन्धनका कारण फरक राजनीतिक दलको चुनाव चिन्हबाट निर्वाचन लडेको प्राविधिक आधार देखाउँदै सम्बन्धित दलको निर्णयअनुसार निर्वाचन आयोगले असार ८ गते उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए ।
सम्मानित सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले असार १६ गते आफ्नो पक्षमा अन्तरिम आदेश जारी गर्दै वडा अध्यक्षको हैसियतमा कामकाजलाई निरन्तरता दिन आदेश दिएको ढकालले खस्यौलीखबरलाई बताए ।
अदालतको आदेशपछि उनले यो निर्णयलाई “सत्यको जित र वडाबासीको जित“ भएको टिप्पणी गरेका छन् । पदमुक्तिपछिको कठिन समयमा साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण वडाबासीप्रति उनले आभार व्यक्त गरेका छन् । ढकालले आगामी दिनमा पनि कुनै स्वार्थ नराखी वडाबासीको सेवा, विकास निर्माण र जनहितका काममा समर्पित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




















