Spread the love

बुटवल, १४ असार ।
लगातारको वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका पाँच प्रमुख सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीको आइतबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५, बोखिम क्षेत्रमा आएको बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । वैकल्पिक बाटोसमेत सञ्चालनमा रहेकाले सवारी आवागमन सीमित रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाम नगरपालिका–९, राजदुवाली क्षेत्रमा पहिरो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कुटुन्जेबेंसी हुँदै चल्ने बी.पी. राजमार्ग खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको छ ।

त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मतका कारण पूर्ण रूपमा बन्द रहेको छ । प्रहरीका अनुसार यो सडक एक महिनासम्म बन्द रहनेछ ।

गण्डकी प्रदेशअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४, पानीखोला क्षेत्रमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले वर्षायाममा अत्यावश्यक बाहेकको यात्रा गर्दा सडकको पछिल्लो अवस्था बुझ्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्