बुटवल, १४ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ खोलाको बगरमा फसेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् । आइतबार बिहान खोलाले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा जिल्ला गुल्मी मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगञ्ज बस्दै आएका अन्दाजी ३१ वर्षीय गोरख विक खोलाको बीच भागमा रहेको बगरमा फसेका थिए ।
घटनाको जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव निरीक्षक कृष्णबहादुर सुनारको कमाण्डमा ७ जना, इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक अक्षयकुमार रावलको नेतृत्वमा ७ जना तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश दाहालको कमाण्डमा १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको थियो ।
संयुक्त टोलीले जोखिमपूर्ण अवस्थामा रहेका विकलाई सुरक्षित रूपमा उद्धार गरी बाहिर ल्याएको प्रहरीले जनाएको छ । उद्धार गरिएको स्थान वडा प्रहरी कार्यालय बुटवलबाट करिब ६–७ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा पर्छ ।






















