Spread the love

जुम्ला, १४ असार ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आकस्मिक कक्षमा ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार असार १० गते दिउँसो करिब १२ बजे चन्दननाथ नगरपालिका–३ निवासी ३० वर्षीय लव बहादुर सेजुवाल मादक पदार्थ सेवन गरी प्रतिष्ठानको आकस्मिक कक्षमा प्रवेश गरेका थिए ।

उनले त्यहाँ कार्यरत चिकित्सकहरूमाथि होहल्ला गर्दै अभद्र व्यवहार गरेपछि तत्कालै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार सेजुवाल यसअघि पनि प्रतिष्ठानभित्र अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ । घटनापछि स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन–२०७९) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्