Spread the love

काठमाडौँ ।
जारी विश्वकपमा ह्यारी केनले इङ्गल्यान्डका लागि सर्वाधिक गोलको ईतिहास रच्दै समुह एलको विजेतासहित अन्तिम ३२ मा स्थान बनाएको छ । इङ्गल्यान्डले पानामामाथि २– ० को जित निकालेको हो । इङ्गल्यान्डले दोस्रो हाफमा आक्रामक खेल पस्केको थियो ।

खेलमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा बुकायो साकाको कर्नरलाई उत्कृष्ट रूपमा सदुपयोग गर्दै अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि बेलिङ्घमकै आकर्षक क्रसमा ह्यारी केनले नजिकैबाट हेडमार्फत गोल गर्दै इङ्गल्यान्डको अग्रता दोब्बर बनाए । यो केनको विश्वकपमा ११ औँ गोल हो । यससँगै उनले ग्यारी लाइनेकरको १० गोलको कीर्तिमान तोड्दै विश्वकपमा इङ्गल्यान्डका सर्वाधिक गोलकर्ता बने । उनले इङ्गल्यान्डका लागि ११७ खेलमा ८२ गोल पूरा गरेका छन् ।

यस जितसँगै इङ्गल्यान्डले अन्तिम ३२ मा डिआर कङ्गोसँग खेल्ने छ । यही खेलमा विकल्पका रूपमा मैदान प्रवेश गरेका जोर्डन हेन्डरसन चारवटा विश्वकपमा इङ्गल्यान्डको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी पनि बने ।

उता, फिलाडेल्फियामा भएको अर्को खेलमा क्रोएसियाले घानालाई २–१ ले हराउँदै अन्तिम ३२ मा स्थान बनाएको छ । पेटार सुचिचले पहिलो हाफमा शानदार गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर ७३ औँ मिनेटमा घानाका डेरिक लकासेनले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला ८३ औँ मिनेटमा निकोला भ्लासिचले हेडमार्फत निर्णायक गोल गर्दै क्रोएसियालाई जित दिलाए ।

यस नतिजासँगै क्रोएसिया समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ भने घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एकका रूपमा अन्तिम ३२ मा पुगेको छ । क्रोएसियाको जितसँगै स्कटल्यान्डको अन्तिम ३२ पुग्ने बाँकी रहेको सम्भावना पनि समाप्त भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्