धनुषा, १३ असार ।
जनकपुर उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट प्रहरीले पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधिर मुखिया रहेका छन् ।
प्रहरीले चेकजाँचका क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘इगल रेप्टर’ लेखिएको एक थान पेस्तोल, सोही पेस्तोलको एक थान म्यागजिन, ९ एमएमको एक राउन्ड तथा ७.६५ एमएम केएफका चार राउन्ड गरी कुल पाँच राउन्ड गोली बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















