बुटवल, १३ असार ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा तीनदिने रचनात्मक कार्यक्रमको शुभारम्भ गरेको छ । स्थापना दिवसको पहिलो दिन शनिबार संघको सचिवालयमा आयोजित रक्तदान कार्यक्रममार्फत औपचारिक रूपमा कार्यक्रमको सुरुवात गरिएको हो ।
सामाजिक उत्तरदायित्व र व्यवसायिक एकताको सन्देश दिने उद्देश्यले रक्तदानसहित विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्न लागेको संघका अध्यक्ष माधव खनालले बताए । आईतबार बुटवल बसपार्क क्षेत्रमा वृहत सरसफाई कार्यक्रम तथा मंगलबार साधारण सभाको औपचारिक कार्यक्रमका साथै स्रस्टा सम्मान कार्यक्रम गरि मनाईने उनले बताए ।
एक कार्यक्रमका बिच संघका अध्यक्ष माधव खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष थम्मन भण्डारी, महासचिव केशवराज कंडेल, कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ गरे ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले रक्तदानको महत्वबारे प्रकाश पार्दै सामाजिक गतिविधिमा संघ सधै अग्रसर रहेको बताए । रुपन्देहीमा रक्तदान अभियानलाई यो अवस्थामा ल्याउन विभिन्न अगुवाहरुको योगदान स्मरण गर्दै उनले निरोगिताको प्रमाणका रुपमा रक्तदानलाई मान्न सकिने बताए । रगत अभावकै कारण बिरामीको ज्यान जाने अवस्था रोक्न यस्ता रक्तदान अभियान महत्वपूर्ण हुने उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक प्रेम भट्टराईले बताए । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा सामाजिक, व्यवसायिक तथा सम्मानका कार्यक्रमहरू समावेश गरिएको छ ।
भिडियो रिर्पोट



















