Spread the love

काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलसंगै पोर्चुगलले जारी फिफा फुटबल विश्वकपमा उज्बेकिस्तानलाई ५–० गोल अन्तरले पराजित गरेको छ । योसँगै रोनाल्डो विश्वकपका लगातार ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । ४१ वर्षीय रोनाल्डोले खेलको छैटौं मिनेटमा जोआओ क्यान्सेलोको क्रसलाई नजिकको पोस्टमा हाफ भलीमार्फत गोलमा परिणत गर्दै कीर्तिमान बनाएका हुन् । यो गोलसँगै उनी विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् ।

यसअघि सन् १९९४ मा क्यामरुनका रोजर मिल्लाले ४२ वर्षको उमेरमा रुसविरुद्ध गोल गरेका थिए । प्रतियोगिताको पहिलो खेलमा डिआर कङ्गोसँग १–१ को बराबरी खेलेपछि आलोचना खेपेको पोर्चुगलले यसपटक भने विश्वकपमा पहिलोपटक सहभागी बनेको उज्बेकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन ग¥यो ।

पोर्चुगलले १७ औं मिनेटमा अग्रता दोब्बर बनायो । नुनो मेन्डेसले करिब २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै जालीमा पुगेको थियो । उज्बेकिस्तानले अजीज गानिएभमार्फत शानदार गोल फर्काएको जस्तो देखिए पनि अब्बोसबेक फैजुल्लाएभले क्यान्सेलोलाई फाउल गरेको पाइएपछि गोल मान्यता पाएन । खेलको ३९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । ब्रुनो फर्नान्डेसले मध्यभागबाट उत्कृष्ट पास उपलब्ध गराएपछि रोनाल्डोले सहज रूपमा बललाई जाली चुमाए । उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभको आत्मघाती गोलबाट पोर्चुगलले ४–० को अग्रता बनायो ।

अन्तिम समयमा वैकल्पिक खेलाडी राफाएल लिआओले पाँचौं गोल थप्दै जित सुनिश्चित गरेका थिए । यो जितसँगै पोर्चुगल दुई खेलबाट शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि बुधबार हुने अर्को खेलमा कोलम्बियाले डिआर कङ्गोलाई हराएमा पोर्चुगललाई पछि पार्न सक्नेछ । उज्बेकिस्तान भने लगातार दोस्रो हारसँगै अंकविहीन रहेको छ । रोनाल्डोले भने अब विश्वकपमा कुल १० गोल पु¥याएका छन् । उनले सन् २००६, २०१०, २०१४ र २०२२ मा एक–एक गोल गरेका थिए भने सन् २०१८ मा चार गोल गरेका थिए । त्यसक्रममा स्पेनविरुद्धको ३–३ को बराबरीमा उनले ह्याट्रिक समेत पूरा गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्