बुटवल, ५ असार ।
लुम्बिनी लायन्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आफ्नो टोलीका सात खेलाडीलाई निरन्तरता दिएको घोषणा गरेको छ । टोलीले राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल सहित सुन्दीप जोरा, शेर मल्ल, तिलक भण्डारी, दिनेश अधिकारी, दिलीप नाथ र अभिषेश गौतमलाई आगामी सिजनका लागि कायम राखेको हो।
लुम्बिनी लायन्सले सामाजिक सञ्जालमार्फत रिटेन्सन सूची सार्वजनिक गर्दै टोलीको मुख्य संरचनालाई यथावत् राख्ने निर्णय गरेको जनाएको छ । अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन रहेको यो समूहले आगामी सिजनमा टोलीलाई थप प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ ।
विशेषगरी कप्तान रोहित पौडेलको नेतृत्व, सुन्दीप जोराको आक्रामक ब्याटिङ तथा अन्य खेलाडीहरूको निरन्तर योगदानलाई मध्यनजर गर्दै फ्रेन्चाइजले उनीहरूलाई पुनः टोलीमा राख्ने निर्णय गरेको हो । रिटेन्सन सूची सार्वजनिक भएसँगै अब लुम्बिनी लायन्सले बाँकी खेलाडी छनोट र टोली सुदृढीकरणको तयारीमा रहेको छ ।





















