बुटवल, ४ असार ।
लुम्बिनी प्रदेशमा अघिल्लो वर्षको तुलनामा दुर्घटना बढेको छ । दुर्घटनासंगै मानविय क्षतिसमेत बढेको छ । सरोकारवाला निकायबाट निरन्तर सडक दुर्घटनाका अभियान चलाउदा पनि प्रभावकारी देखिएको छैन । यही दुर्घटना र मानविय क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यका साथ विहिबार बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले प्रदेशमा दुर्घटनाको अवस्था भयाबह रहेको बताए । “प्रत्येक महिनामा तीन देखि चार जनाको सवारी दुर्घटनावाट ज्यान जाने गरेको छ ।”–उनले भने । आर्थिक बर्ष २०८१/०८२ मा ३ हजार ४ सय ७९ दुर्घटनामा ५ सय ६ जनाले ज्यान गुमाएका तथा ५ हजार ६ सय ९१ जना घाईते भएको तथ्याक उनले प्रस्तुत गरे । यो आर्थिक बर्ष २०८२/०८३ को जेठ मसान्तसम्म यो सख्या बृद्धि भएको छ । ४ हजार ६ सय ५२ दुर्घटनामा ५ सय ४४ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ८ सय घाईते भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरणका लागि बिशेष योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताए ।
सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
गोष्ठीमा प्रदेश प्रहरी कार्यालय, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको छ ।





















