बुटवल, ४ असार ।
मदिराजन्य तथा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले स्वास्थ्य, सामाजिक र वातावरणीय क्षेत्रमा गम्भीर असर पारिरहेको अवस्थामा यसको प्रभावकारी नियमन तथा नियन्त्रणका लागि विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले आधारभूत स्वास्थ्य सेवा ऐन २०७५ अन्तर्गत स्वास्थ्य प्रवद्र्धन सेवाको कार्यक्रमअन्तर्गत आयोजना गरेको एकदिने ‘मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि सरोकारवालालाई अभिमुखीकरण’ कार्यक्रममा सहभागीहरूले कार्यान्वयन पक्ष कमजोर हुँदा नियन्त्रणका प्रयास प्रभावकारी हुन नसकेको बताएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले शहरीकरणसँगै विकास र विकृति दुवै बढ्दै गएको उल्लेख गर्दै युवापुस्तालाई कुलतबाट जोगाउन अभियान आवश्यक रहेको बताए । उनले आफू २०५४ सालमा जनप्रतिनिधि हुँदा करिब पाँच हजार लागूऔषध प्रयोगकर्ता रहेको तथ्यांक अहिले बढेर देशमा एक लाखको हाराहारी पुगेको भन्दै युवाहरूबाटै कुलतविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग दर निरन्तर बढिरहेको जानकारी दिए । उनका अनुसार पछिल्ला नौ वर्षमा मदिरा सेवन गर्ने पुरुषको संख्या ५० प्रतिशत र महिलाको संख्या ५४.९ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा गरिएको अध्ययनले नेपालमा करिब १० लाख वयस्कले अत्यधिक मदिरा सेवन गर्ने गरेको देखाएको छ भने १३ देखि १५ वर्ष उमेर समूहमा समेत सेवनकर्ताको संख्या उल्लेख्य रहेको पाइएको छ । अर्यालका अनुसार नेपालमा हरेक वर्ष करिब ३९ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थका कारण हुने गरेको छ, जुन कुल मृत्युको १८ प्रतिशत हो ।
विश्वभर सुर्तीजन्य पदार्थकै कारण वार्षिक ८० लाख मानिसको ज्यान जाने गरेको छ भने धूम्रपान गर्ने व्यक्तिको नजिक बस्ने निष्क्रिय धूम्रपानबाट समेत १२ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । उनले सुर्तीजन्य पदार्थले वातावरणमा समेत गम्भीर असर पारिरहेको उल्लेख गर्दै विश्वभर हरेक वर्ष ४.५ ट्रिलियन चुरोटका ठुटा फोहोरका रूपमा थुप्रिने गरेको र नेपालमा मात्रै वार्षिक चार हजार ७३२ टन चुरोटका ठुटा अत्यन्त हानिकारक फोहोरका रूपमा जम्मा हुने गरेको जानकारी दिए ।
बुटवल उपमहानगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख युवराज पाण्डेले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताए । उनले होटल तथा रेष्टुरेन्टमा हुक्का, भेप र ई–सिगरेटको प्रयोग निषेध गर्नुपर्ने, करको दायरा विस्तार गर्नुपर्ने, सादा प्याकेजिङ लागू गर्नुपर्ने तथा निरीक्षक र व्यवसायीलाई थप जिम्मेवार बनाउँदै विद्यमान ऐन तथा नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा जनप्रतिनिधि यमुना श्रेष्ठ, बिन्दु विकलगायत सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले कानुनी व्यवस्था पर्याप्त भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको भन्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाएर मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।





















