बुटवल, २७ जेठ ।
बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा करोडौं रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको भन्दै सार्वजनिक गरिएको घटना अन्ततः चोरी नभई योजनाबद्ध नाटक भएको खुलेको छ । जेठ १७ गते बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट एक करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको घटना प्रहरीमा दर्ता गरेका संचालक दीपक बिकले नाटक रचेको खुलेको हो ।
बुधबार इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले योजनाबद्ध रूपमा बीमा रकम दाबी गर्ने उदेश्यका साथ संचालकबाट चोरीको नाटक रचेको खुलेको जानकारी दिए । घटनामा सञ्चालक बुटवल–३ का ४१ वर्षीय दीपक बिकसहित पसलका कर्मचारी ४७ वर्षीय नवीन बिक रहेको अनुसन्धानमा खुलेको उनले बताए । इलाका प्रहरी कार्यालयले सुनचाँदी पसल तथा घरमा भएका चोरीसम्बन्धी तीन फरक घटनाको अनुसन्धानका क्रममा ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ परेकामध्ये दुई जनाले करोडौं रुपैयाँ बराबरका गरगहना चोरी भएको भन्दै नाटक रचेको खुलेको छ भने सात जना भारतीय नागरिक चोरीको प्रयास गर्दै गर्दा रंगेहात पक्राउ परेका छन् । यो घटनामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले प्रारम्भिक अनुसन्धानपछि दुवै जनालाई पक्राउ गरी आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।
यसैगरि जेठ १९ गते बुटवल–५ विकासपथस्थित देव सुनचाँदी पसलको सटरको ताला काट्दै गरेको अवस्थामा पक्राउ परेका सात जना भारतीय नागरिकलाई समेत सार्वजनिक गरेको छ । गस्तीमा रहेको प्रहरी टोलीले भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाका आकाश वर्मा, अब्दुल सलाम, नसिर अली, मोहम्मद सुलेमान, शहिद मोहम्मद शेख, करण शर्मा र मोहम्मद पारस रहेका छन । उनीहरूलाई पक्राउ गरी चोरीसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
बुटवलमा नै जेठ ४ गते सुख्खानगर, कालिकापथस्थित राजेश कुमार गुप्ताको घरमा नगद तथा सुनचाँदीका गरगहना चोरी भएको घटनामा पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–२ का २७ वर्षीय शिव ओम थारु रहेका छन् । अनुसन्धानका क्रममा उनको साथबाट सुनका बाला, सिक्री, कानपासा, झुम्का, औँठी, टप, फुलीलगायतका सुनका गरगहना तथा चाँदीका लोटा, बिछुवा र औँठी बरामद गरिएको छ ।
भिडियो रिर्पोट




















