Spread the love

बुटवल, २६ जेठ ।

आदिवासी जनजाति तथा सिमान्तकृत समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालित तालिम मंगलबार एक समारोहबीच समापन गरिएको हो ।

समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पत्रकारिता क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा पत्रकारहरूको हितका लागि उपमहानगरपालिका सधैं प्रतिबद्ध रहेको बताए । पत्रकार तथा नागरिकप्रति राज्यको दायित्व रहेको उल्लेख गर्दै उनले नागरिकको समृद्धि र विकासका लागि बुटवल उपमहानगरपालिकाले कुनै सम्झौता नगरी काम गरिरहेको बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरु राना, लुम्बिनी प्रदेश महासचिव सनु थापा, पूर्व केन्द्रीय सदस्य कमल चौधरी, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे मगर, प्रेस सेन्टर नेपाल रुपन्देहीका उपाध्यक्ष माया केसी, दलित पत्रकार संघ रुपन्देहीका जिल्ला सचिव कृष्ण रणपाल, तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका सचिव तेजबहादुर गुरुङ (सञ्जु) लगायतले शुभकामना दिए ।

तालिममा सहभागी जेनिसा सोती र सुरेश कुमार रानाले तालिमले पत्रकारितामा आधुनिक प्रविधिको प्रयोगबारे नयाँ ज्ञान र सीप हासिल गर्न मद्दत पुगेको अनुभव सुनाए । दश दिनसम्म सञ्चालन भएको तालिममा कृत्रिम बौद्धिकताको प्रयोग, खोज पत्रकारिता, पत्रकारितामा प्रविधिको उपयोग, फोटो तथा भिडियो सम्पादन, डिजिटल तथा अनलाइन पत्रकारिता लगायतका विषयमा प्रशिक्षकहरू उमङ्ग निरौला, चित्र गुरुङ, कमल चौधरी, विष्णु भट्टराई, यम राना र डीबी सुस्लिङलगायतले प्रशिक्षण दिएका थिए । बुटवल उपमहानगरपालिकाको सहकार्यमा तालिम दिईएको फोनिज रुपन्देहीका अध्यक्ष मीन रानाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्