काठमाडौं ।
काठमाडौं जिल्ला अदालतको आधिकारिक लेटरप्याड, अदालतको छाप तथा न्यायाधीशसहितका कर्मचारीको दस्तखत कीर्ते गरी झुट्टा कागजात तयार गर्ने एक युवक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार जिल्ला गोरखा आरुघाट गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३ टोखामा बस्दै आएका २६ वर्षीय बिबस अधिकारीलाई पक्राउ गरिएको हो ।
अनुसन्धानका क्रममा बिबस अधिकारीले काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते गरी आफू प्रतिवादी रहेको मुद्दामा मिति २०८२ चैत १५ गते ‘मुद्दा खोल्ने तथा पुनः प्रमाणिकरण सम्बन्धी सूचना’ शीर्षकको झुट्टा पत्र तयार पारेको खुलेको छ। उक्त पत्रमा मुद्दाको अन्तिम निर्णयपछि उनको बैंक खातामा २ करोड १३ लाख रुपैयाँ जम्मा हुने उल्लेख गरिएको थियो ।
त्यसैगरी, मिति २०८२ चैत २४ गते अदालतबाट सेवा शुल्कस्वरूप १ लाख ६ हजार ५ सय रुपैयाँ बुझाउन आदेश दिइएको भनी अर्को झुट्टा लिखत समेत तयार गरी प्रयोगमा ल्याएको पाइएको ब्यूरोले जनाएको छ । सीआईबीका अनुसार ती कागजातमा काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश, श्रेस्तेदार तथा शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत कीर्ते गरिएको थियो। अदालतका कर्मचारीहरूले दिएको निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा बिबस अधिकारीलाई २०८३ जेठ २५ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलबाट पक्राउ गरिएको हो। पक्राउपछि उनको डेरामा खानतलासी गर्दा विभिन्न कीर्ते कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ । हाल काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई उनलाई सीआईबीको हिरासतमा राखिएको छ । लिखत सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















