Spread the love

बुटवल, २२ जेठ ।
तिलोत्तमा नगरपालिकाबाट संचालन गरिएको सुलभ फार्मेसी सम्बन्धी आफ्नो निर्णय पुनरावलोकन गर्नुपर्ने रुपन्देहीका ब्यवसायिक संघसंस्थाहरुले माग गरेका छन् । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको आयोजनामा औषधि व्यवसायमा देखिएका समस्या तथा चुनौतीबारे साझा धारणा तय गर्ने उद्देश्यले तिलोत्तमामा गरिएको व्यवसायिक संघ–संस्थाहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो गतिविधिबाट आम औषधि व्यवसायीलाई निरुत्साहित पारेको दाबी गरे । तिलोत्तमा नगरपालिकाले ‘सुलभ फार्मेसी’ का नाममा अघि बढाएको कार्य सम्मानित सर्वोच्च अदालतको २०७४ असोज २ गतेको परमादेशको भावनाविपरीत देखिएको उल्लेख गर्दै उक्त निर्णय अविलम्ब सच्याउन माग गर्ने निर्णय समेत गरिएको छ ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले सरकारबाट औषधी ब्यवसायीप्रतिको दृष्टिकोण सकारात्मक नदेखिएको गुनासो गरे । पटकपटक आफुहरुले प्रदेश, संघमा समस्या राख्दा पनि सुनुवाई नभएको उनले बताए । लोककल्याणकारी राज्य स्थापना गर्ने गरि जनतालाई दिने सुविधा वा छुट दिने विषयमा कसैको अवरोध नरहेको भन्दै उनले सहि क्षेत्रमा कार्यान्वयन गर्न आग्रह गरे । मार्जिन नभएको औषधी नराख्ने गरिएको उनले बताए ।

संघका पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईले संस्थागत माग भएका औषधीलाई बिक्री गर्ने काम गलत भएको बताए । ‘यसले औषधीमा बिकृति आउछ ।’– उनले भने । केही वर्ष पहिले बुटवलमै नक्कली औषधी बिक्री भएको घटना प्रस्तुत गर्दै उनले खुला सिमा अहिले चुनौती बनेको दुखेसो गरे ।

सरकारी स्वास्थ्य संस्थामार्फत नागरिकलाई सहुलियतपूर्ण सेवा उपलब्ध गराउने नीति स्वागतयोग्य भएपनि यो प्रवृत्ति स्वस्थ प्रतिस्पर्धा र व्यवसायिक वातावरणका लागि उपयुक्त नभएको उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यको दाबी छ ।

व्यवसायिक हितका सवालमा सबै संघ–संस्थाले आत्मसमीक्षा गर्दै आपसी सहकार्य, समन्वय र एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुपर्ने नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्गबहादुर बस्नेतले बताए । व्यवसायिक संघ–संस्थाको संख्या र नेतृत्वकर्ता बढनु सकारात्मक भए पनि व्यवसायिक मुद्दा, साझा उद्देश्य र प्रभावकारी सहकार्य कमजोर देखिएको उनले दुखेसो गरे ।

कार्यक्रममा संघका प्रदेश अध्यक्ष लुकराज न्यौपानेले शुलभ फार्मेसी सुचारु हुनुअघि नै पटकपटक आफुहरु पालिकामा पुगेर कुरा उठाउदा सुनुवाई नभएको दुखेसो गरे । गुणस्तरीय औषधी पसल चलाउने विषयमा आफुहरु सधै तयार रहेको उनले बताए । नेपाल आर्मीले तेल बेच्दा मूल्य घटाएको अवस्थामा अन्य ब्यवसायीहरुलाई मर्का पर्ने उदाहरण दिदै उनले अहिले तिलोत्तमाको फार्मेसी यस्तै भएको बताए । यदि सुलभ बन्द नभए आफुहरु तिलोत्तमाका ६०÷७० वटै पसल पालिकालाई हस्तान्तरण गर्ने उनले बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा कृष्ण खरेल, नेपाल फार्मेसी संघका केन्द्रिय निवर्तमान अध्यक्ष किरण ढकाल, संघका संस्थापक अध्यक्ष सुरज भट्टराई, वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, महासचिव कृष्णप्रसाद शर्मा पोख्रेल, कानुनी सल्लाहकार युवराज घिमिरेले रुपन्देहीमा विना दर्ता सञ्चालनमा रहेका औषधि व्यवसायीको अनुगमन, औषधि व्यवस्था विभागको शाखा स्थापना गर्न तथा क्लिनिक दर्ता प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन जरुरी रहेको औल्याए ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्