बुटवल, २२ जेठ ।
झापाको दमकमा एक साताअघि मृत अवस्थामा फेला परेकी रमा तिवारीको हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनमार्फत भारतको बिहार राज्य, अररिया जिल्ला, सिरसियाकला ग्राम पञ्चायतका ३४ वर्षीय राकेशकुमार पण्डितलाई घटनाको मुख्य आरोपीका रूपमा पक्राउ गरिएको जानकारी दिएको हो । उनी दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानसम्बन्धी ठेक्कापट्टाको काम गर्दै दमकमै डेरा गरी बस्दै आएका थिए ।
प्रहरीका अनुसार रमा तिवारी हराएको ११ दिनपछि गरिएको अनुसन्धानका क्रममा घटनाको रहस्य खुलेको हो। प्रारम्भिक अनुसन्धानबाट मृतक र आरोपीबीच पूर्वपरिचय रहेको खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा दुवैबीच रकमको विषयलाई लिएर विवाद भएको र सोही क्रममा आरोपीले रमाको घाँटी थिचेर हत्या गरेको आरोप प्रहरीले लगाएको छ । हत्या पश्चात घटनालाई लुकाउन शवलाई मोटरसाइकलमा राखेर दमक–१० को सेतुमारी क्षेत्रस्थित रतुवा खोलाको पुलमुनि फालिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दै आरोपीलाई नियन्त्रणमा लिएको जनाएको छ । झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि ज्यानसम्बन्धी कसुरसहित अन्य सम्बन्धित अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।





















