बुटवल, २० जेठ ।
अत्यधिक ट्राफिक चाप र दुर्घटना जोखिम रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत चिडियाखोला सडक खण्डमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरीले ‘चालकसँग ३ मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत विभिन्न सवारी साधनका २५० जना सवारी चालकलाई ट्राफिक सचेतना प्रशिक्षण दिएको छ ।
चालकहरुलाई तीन चरणमा प्रशिक्षण प्रदान गरिएको हो । कार्यालयबाट खटिएको प्रशिक्षक टोलीले प्रहरी नायव निरीक्षक बिक्रम प्रसाद भुसालको नेतृत्वमा चालकहरुलाई सडक सुरक्षासम्बन्धी व्यवहारिक जानकारी दिएको जनाएको छ ।
प्रशिक्षणका क्रममा सडक प्रयोग गर्ने सही विधि, सवारी दुर्घटनाका मुख्य कारण, दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनुपर्ने अनुशासन, लेन अनुशासन तथा ट्राफिक नियमको पालनासम्बन्धी विषयमा जानकारी गराइएको थियो ।
ट्राफिक प्रहरीले बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि चालकमा सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।



















