बुटवल, २० जेठ ।
मानिसको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको दूध तथा दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरण प्रक्रियामा स्वच्छता, गुणस्तर र व्यवसायिक इमान्दारिताको विषय अहिले थप चासोको केन्द्र बनेको छ । उपभोक्ताको स्वास्थ्यसँग सिधा सम्बन्ध राख्ने दूध, दही, घ्यू, पनिरजस्ता खाद्यवस्तुको गुणस्तर सुनिश्चित गर्न किसानदेखि उद्योगी, व्यवसायी र सरकारी निकायसम्म सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
विश्व दूध दिवसको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देही अन्तर्गत रहेको डेरी बस्तुगत समितिले आयोजना गरेको ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता तथा गुणस्तर’ सम्बन्धी अन्तरक्रिया गोष्ठीमा वक्ताहरूले दुग्ध व्यवसायलाई केवल व्यापार नभई जनस्वास्थ्य र आर्थिक समृद्धिसँग जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्ने बताए । सन् २००१ देखि हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाईदै आएको छ ।
कार्यक्रममा संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले दूध उत्पादनको श्रृंखला किसानदेखि उपभोक्तासम्म पुग्ने भएकाले उत्पादन, भण्डारण, ढुवानी र प्रशोधनका सबै चरणमा निर्धारित मापदण्ड पालना हुनुपर्ने बताए । किसानले उत्पादनको उचित मूल्य पाउनुपर्ने र उपभोक्ताले पनि गुणस्तरीय वस्तु सहुलियत मूल्यमा प्राप्त गर्नुपर्ने उल्लेख गर्दै उनले व्यवसायिक इमान्दारिता दुग्ध क्षेत्रको दीर्घकालीन विश्वासको आधार भएको धारणा राखे ।
कार्यक्रममा संघका कृषि परामर्शदाता डा. प्रदीप शर्मा पौडेलले दूध उत्पादनको सुरुवात पशु स्वास्थ्य र गोठको सरसफाइबाट हुने उल्लेख गर्दै दुहुने तरिका, भण्डारण र ढुवानी व्यवस्थापनसम्म वैज्ञानिक र सुरक्षित अभ्यास अपनाउनुपर्ने बताए । प्रशोधन उद्योगहरूले खाद्य सुरक्षा मापदण्डको पूर्ण पालना नगरे गुणस्तरीय उत्पादन सम्भव नहुने उनको भनाइ थियो ।
लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक लोकराज भुसालले लुम्बिनी प्रदेश दूध उत्पादन र उपभोगका हिसाबमा सम्भावनायुक्त क्षेत्र भए पनि अब गुणस्तर सुधारतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । विशेषगरी भैंसीको नस्ल सुधार, पशु स्वास्थ्य सेवा र पशु आहार व्यवस्थापनमा लगानी बढाउन सके लुम्बिनीका तराई जिल्लाले राष्ट्रिय दूध आवश्यकतामा महत्वपूर्ण योगदान दिन सक्ने उनको धारणा थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाईले खाद्य स्वच्छता, गुणस्तर र मिसावट नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था तथा ऐन–कानुनका विषयमा जानकारी गराउँदै दुग्धजन्य पदार्थमा नियमित परीक्षणको आवश्यकता औँल्याए ।
नेपाल दुग्ध विकास संस्थान, लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख कृष्णप्रसाद अर्यालका अनुसार पछिल्ला वर्षहरूमा उपभोक्तामा खाद्य सुरक्षाप्रति चेतना बढेको छ । यसले बजारमा प्रमाणित र गुणस्तरीय उत्पादनप्रतिको माग वृद्धि गराएको भन्दै उनले स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राखे उपभोक्ताको विश्वास बढ्नुका साथै दुग्ध क्षेत्रको दिगो विकासमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।
डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले दिवसमामात्र नभई आफुहरु पेशागत हकहित र उपभोक्ताको पक्षमा निरन्तर काम गर्दै आएको बताए ।



















