काठमाडौं ।
न्यूजिल्यान्डका एमएमए फाइटर कासिब मर्डोकले नेपाली फाइटर रबिन्द्र ढाँटविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि रोड टु युएफसी ब्यान्टमवेट सेमिफाइनलअघि खेल माहोल तातेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा मर्डोकले ढाँटसँगको आगामी भिडन्तलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन् ।
भिडियोमा मर्डोकले एक वर्षअघि इन्डोनेसियाको बालीमा आफूले ढाँटलाई फाइटको प्रस्ताव गरेको दाबी गर्दै नेपाली फाइटर “डराएर पछि हटेको” आरोप लगाएका छन् । उनले आगामी भिडन्तमा ढाँटलाई “पूर्ण रूपमा ध्वस्त पार्ने” चेतावनीसमेत दिएका छन् । मर्डोकको यस्तो अभिव्यक्ति फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ ।
मर्डोकको टिप्पणीपछि नेपाली एमएमए समर्थकहरू आक्रोशित बनेका छन् । धेरैले यसलाई नेपालका चर्चित फाइटर रबिन्द्र ढाँटप्रति अपमानजनक व्यवहारका रूपमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा समर्थकहरूले “गोरखाली स्पिरिटलाई कमजोर नठान” भन्दै मर्डोकलाई जवाफ दिइरहेका छन्।
‘बझाङको बाघ’ उपनामले परिचित रबिन्द्र ढाँटले हालै रोड टु युएफसीमा ऐतिहासिक सफलता हासिल गरेका थिए । मकाउमा भएको प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए । उक्त जितसँगै रोड टु युएफसीमा जित निकाल्ने पहिलो नेपाली फाइटर बन्ने इतिहास पनि ढाँटले रचेका छन् ।
ब्यान्टमवेट सेमिफाइनलअन्तर्गत ढाँट र मर्डोकबीचको बहुप्रतीक्षित भिडन्त आगामी अगस्टमा हुने बताइएको छ । यद्यपि युएफसीले मिति र स्थानबारे औपचारिक घोषणा गरिसकेको छैन ।
फ्यानहरूले यो प्रतिस्पर्धालाई आत्मविश्वासले भरिएको ट्रास–टक गर्ने मर्डोक र अन्तर्राष्ट्रिय स्तरमा उदाइरहेका नेपाली स्टार ढाँटबीचको ठूलो भिडन्तका रूपमा हेरेका छन् । यद्यपि, मर्डोकको टिप्पणीबारे रबिन्द्र ढाँटले हालसम्म सार्वजनिक रूपमा विस्तृत प्रतिक्रिया दिएका छैनन् ।
धेरै समर्थकहरूले ढाँटका अघिल्ला प्रतिद्वन्द्वीहरूले पनि यस्तै टिप्पणी गरेको स्मरण गराउँदै अन्ततः अक्टागनभित्र उनीहरू पराजित भएको बताएका छन् । अब मर्डोकको शब्दयुद्ध वास्तविक भिडन्तमा कति भारी पर्छ भन्ने चासो एमएमए समर्थकमाझ बढ्दो छ ।






















