भैरहवा, ७ जेठ ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब विजयी हुदै फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा तिरुपति क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै वेष्टर्नले उपाधि दाबेदारी पेश गरेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९ रनको योगफल बनायो । उसका लागि सन्देश थापाले महत्वपूर्ण अर्धसतकीय पारी खेले । थापाले अविजित ५२, दिपेश रोकाले ३४, सुमित नेवारले ३३, रन्जित खत्रीले २४, कलम अली मुसलमानले २३ र प्रज्जवल थापाले १० रनको योगदान दिए । तिरुपतिका दिवान पुन र बसिर अहमदले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको तिरुपति ३२.१ ओभरमा केवल १ सय ४४ रन मात्रै बनायो । उसका लागि मोहम्मद हुसेन गद्दीले २७, बसिर अहमदले २५, दिवान पुनले २२, आकाश त्रिपाठी, विजय खनाल र तुलबहादुर थापाले १८–१८ रन बनाए । कम स्कोरमा रोक्न वेष्टर्नका कलम अली मुसलमान र अभिशेष गौतमले ३–३ तथा सन्देश थापा, देव खनाल र सुझाव थापाले १–१ विकेट लिए । खेलमा सन्देश थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।




















