Spread the love

काठमाडौं,७ जेठ । नेपाल मेडिकल काउन्सिल र नेपाल आयुर्वेद चिकित्सा परिषमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेख्ने व्यक्तिमाथि कडा कारबाही गरिने भएको छ। सम्बन्धित निकायले शून्य सहनशीलता नीति अपनाउँदै अवैध रूपमा ‘डा.’ प्रयोग गर्नेलाई ३ वर्षसम्म जेल सजाय हुन सक्ने चेतावनी दिएको हो ।

काउन्सिलका अनुसार नामको अगाडि अवैध रूपमा ‘डा.’ लेख्ने स्वास्थ्यकर्मी वा अन्य व्यक्तिले १५ दिनभित्र साइनबोर्ड, प्रेस्क्रिप्सन तथा टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट उक्त उपाधि हटाउनुपर्नेछ । विदेशी वा स्वदेशी विश्वविद्यालयको प्रमाणपत्रमा ‘डाक्टर’ उल्लेख भएकै आधारमा नेपालमा बिरामी जाँच्न वा एलोप्याथिक औषधि लेख्न नपाइने स्पष्ट पारिएको छ ।

१५ दिनपछि काउन्सिलले सामाजिक सञ्जाल र स्थलगत रूपमा डिजिटल ट्र्याकिङमार्फत अनुगमन गर्ने जनाएको छ। नियम उल्लंघन गरेको पाइएमा ३ वर्षसम्म कैद वा ३ हजार रुपैयाँ जरिवाना, वा दुवै सजायको मागदाबी सहित प्रहरीमार्फत कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली ले विशेषगरी एलोपेथिकतर्फ बिडिएस एमबिबिएस, एमएस, एमडिएस, तथा डिएम÷एमसिएच र आयुर्वेदतर्फ बाम्स तथा आयुर्वेदमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित परिषदमा दर्ता भएकाले मात्र ‘चिकित्सक’ लेख्न पाउने प्रावधान रहेको बताए ।

उनका अनुसार पीएचडी गरेका व्यक्तिले ‘डा.’ लेख्दा आफ्नो विषयसमेत खुलाउनुपर्ने हुन्छ। आँखाको पावर जाँच गर्ने वा माइक्रोबायोलोजीजस्ता विषयमा डिग्री गरेका कतिपय व्यक्तिले समेत ‘चिकित्सक’ लेख्दा बिरामी झुक्किने समस्या देखिएको उनले बताए । बिरामीमा हुने अन्योल हटाई सही उपचार सही व्यक्तिबाट सुनिश्चित गर्न यस्तो कदम चालिएको काउन्सिलको भनाइ छ। साथै, चिकित्सकीय मर्यादाभित्र रहेर सेवा दिन सबैलाई आग्रह गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्