काठमाण्डौ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ । जेनेभास्थित पाले डे नेसन्समा मंगलबार आयोजित महासभाको उद्घाटन सत्रमा उक्त निर्णय भएको हो ।
महासभाको उक्त ऐतिहासिक अवसरमा नेपालले उपाध्यक्षको गरिमामय जिम्मेवारी प्राप्त गर्नु देशको कूटनीतिक तथा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।
उद्घाटन सत्रमा नेपालका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राष्ट्रिय वक्तव्य प्रस्तुत गरेकी छिन । उनले विश्वव्यापी स्वास्थ्य सहकार्य, महामारी व्यवस्थापन, तथा समावेशी स्वास्थ्य प्रणाली सुदृढीकरणमा नेपालले खेल्दै आएको भूमिकालाई जोड दिईन ।
विश्व स्वास्थ्य संगठनको सर्वोच्च नीति–निर्माण तह मानिने विश्व स्वास्थ्य महासभामा नेपालको उपाध्यक्षमा चयनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सक्रिय भूमिका थप मजबुत भएको मानिएको छ ।





















