बुटवल, २८ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो संस्करणको उपमेयर कप महिला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब शानदार जितसंगै उपाधि दाबेदारी पेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाईनलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब वालिङ लाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधि यात्रामा बलियो कदम अघि बढाएको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलको २० औ मिनेटमा पुलिसकी मनिषा राउतले खाता खोलिन । पहिलो हाफ प्रतिस्प्रर्धात्मक देखिएपनि दोस्रो हाफमा भने पुलिस आक्रामक प्रदर्शन गर्दै हाबी भयो । दोस्रो हाफमा सम्झना लावती, निर्मला बिक र अनुष्का शेर्पाले समान एक–एक गोल गर्दै सहज जित निकाले । पुलिसको शानदार जितमा सहारा लिम्बु उत्कृष्ट खेलाडी बनिन् । नेपाल पुलिस क्लब भर्खरमात्र सम्पन्न झापा गोल्डकप र पोखरामा सम्पन्न महिला फुटबलको समेत च्याम्पियन भएको थियो ।
बिहीबार हुने दोस्रो सेमिफाइनलमा संकटा एफसी र अभिषेक चर्च रजहर बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेतालाई नगद २ लाख ५० हजार, उपविजेतालाई नगद १ लाख २५ हजार, सर्वोकृष्ठ खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १०/१० हजार पुरस्कार रकमबाट पुरस्कृत गरिने परिवारका अध्यक्ष सुरेन्द्र थापाले बताए ।






















