बुटवल, २७ वैशाख ।
सोमबारदेखी बुटवलमा रुपन्देही जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता हुने भएको छ । वैशाख २८ र २९ गते हुने १६औँ रुपन्देही जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी यसपटक बुटवल उपमहानगरपालिकाले प्राप्त गरेको छ । प्रतियोगिताको उद्घाटन सोमबार बिहान ८ बजे देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने छ ।
प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फका खेलहरू देविनगर एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा सञ्चालन गरिने भएको छ । यसैगरि छात्र–छात्रा कबड्डी प्रतियोगिता रुपन्देही जिल्ला खेलकुद विकास समिति को कबड हलमा हुनेछन् । यस्तै, तेक्वान्डो खेलहरू नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय तथा कराते दीप बोर्डिङ स्कुल, छात्र भलिबल न्यु होराइजन बोर्डिङ स्कुलको खेलमैदानमा तथा छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदानमा सञ्चालन हुने रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्यले बताए ।
प्रतियोगितामा रुपन्देहीका १६ पालिकामध्ये बुटवल उपमहानगर, तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, शुद्धोधन, कञ्चन, मायादेवी र सियारी गाउँपालिका ६९० जना छात्र र ६९० जना छात्रा गरि कुल १३८० जना खेलाडीहरुले विभिन्न विधामा सहभागिता जनाउने उनले बताए ।
प्रतियोगितालाई व्यवस्थित, मर्यादित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल गरिएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी हरिप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, वरिष्ठ प्रशिक्षक मोहन घले, एथलेटिक्स संघका अध्यक्ष तुलबहादुर थापा लगायतले प्रतियोगिताको सफल आयोजनाका लागि सुझाव दिएको तेक्वान्दो प्रशिक्षक प्रकाशराज भण्डारीले बताए ।




















