काठमाडौँ ।
नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
सोमबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली तथा पहाडी भू–भागका थोरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । ती प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।





















