बुटबल,२४ बैशाख ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटबबाट एचआइभी संक्रमित १ हजार ७०५ जनाले नियमित सेवा लिँदै आएका छन् । जसमध्ये ८५३ पुरुष, ७७९ महिला, १८ जना अन्य र ५६ जना बालबालिका रहेको एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपाल लुम्बिनी प्रदेशका संयोजक धर्मराज भट्टराई बताए ।
एचआइभी संक्रमितको उपचारमा लुम्बिनी प्रादेशिक अस्पताल काठमाडौंको टेकुपछिको राम्रो सेवा मानिन्छ । अस्पतालमा एचआइभी संक्रमित ४३ जना गर्भवतीबाट संक्रणम नभएका बच्चा जन्मिएका छन् । संक्रमित ४३ आमाबाट जन्मिएका सबै बच्चा स्वस्थ जन्मिएको संयोजक भट्टराईले बताए । उनका अनुसार आमाको उपचारमा विशेष ख्याल र बच्चा जन्माउन विशेष ध्यान दिइएपछि बच्चामा संक्रमण नदेखिएको हो ।
गर्भवती आमालाई सुरक्षित र छुट्टै स्थानमा राखेर सेवा प्रदान गर्नुका साथै उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिएपछि स्वस्थ शिशुलाई जन्म गराउन सफल भएको उनले बताए । एएचएफ नेपालले बुधबार बुटवलमा पत्रकारसँग अन्तरक्रिया गर्दै सेवालाई थप प्रभावकारी बनाउन संक्रमितहरुको बायोमेट्रिक रेकर्ड सिस्टम लागू गर्ने तयारीमा रहेको अस्पतालका फोकल पर्सन भीमप्रसाद ज्ञवालीले बताए ।
उनका अनुसार यो विधि लागू गरेपछि उनीहरुले जुनसुकै स्थानबाट औषधि तथा स्वास्थ्य सेवा लिनु परेमा बायोमेट्रिकबाट सम्पूर्ण विवरण चिकित्सकले प्राप्त गरि सेवा दिन सहज हुनेछ । एएचएफ नेपालले जोखिमपूर्ण क्षेत्र मानिने सेक्स वर्कर, लागु औषध प्रयोगकर्ता र कैदी बन्दीमा टेस्ट गर्दै आएको छ ।
एएचएफको रणनीतिक लक्ष्य अनुसार एचआइभी संक्रमण रोकथामको लागि किशोरी र युवाहरुका लागि कण्डम समेत वितरण गर्दै आइरहेको फोकल पर्सन ज्ञवालीले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले एचआइभी संक्रमण र रोकथामको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।






















