Spread the love

भैरहवा, २२ बैशाख ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजनमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । मंगलबार भएको खेलमा तिरुपतिले बुटवल राइनोजमाथि ९ विकेट सहज जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा २०.२ ओभरमा ४७ रनमा समेटियो । कम स्कोरमा रोक्न तिरुपतिका अपराजित पौडेलले ४, आकाश त्रिपाठीले २ तथा मोम्मद हुसेन गद्दी, तुलराम सुनार र तुलबहादुर थापाले १–१ विकेट लिए । बुटवल राइनोजका सुरेन्द्र गन्धर्भले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

४८ रनको झिनो लक्ष्यलाई तिरुपतिले ४.१ ओभर केवल १ विकेटको नोक्सानीमा भेटायो । उसको जितमा आकाश त्रिपाठीले ३६ र सन्दीप मौर्यले १३ रन बनाए । बुटवलका शिव कुँवरले १ विकेट लिए । खेलमा अपराजित पौडेल प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्