रुपन्देही, २१ वैशाख ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब रु. २७ लाख ८० हजार ८४२ बराबरका सामान बरामद गरेको छ । प्रहरीले वैशाख २१ गते जिल्लाका विभिन्न नाकाहरू तथा शंकास्पद स्थानहरूमा चेकजाँच गर्ने क्रममा सुनचाँदीका गरगहना, कपडा, कस्मेटिक सामग्री, कुखुरा, कृषि बिउ तथा मोटरसाइकलसहितका सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मायादेवी गाउँपालिका–४ झुलुनिपुरबाट मात्रै करिब १८ लाख ७३ हजार मूल्य बराबरका गरगहना र मोटरसाइकल बरामद गरिएको छ । त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ ओडवलियाबाट कपडा, बुटवल उपमहानगरपालिका–३ हाटबजार चोकबाट विभिन्न कस्मेटिक सामग्री, रोहिणी गाउँपालिका–२ पोखरभिण्डीबाट कपडा तथा अन्य सामग्री बरामद गरिएको छ ।
यस्तै, विभिन्न स्थानबाट मोटरसाइकलसहित ब्रोइलर कुखुरा, बोइलर कुखुरा, धानको बिउ, किराना सामान तथा अन्य सामग्री समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि चेकजाँचलाई थप कडाइ गरिने जनाएको छ ।





















