बुटवल,२२ वैशाख । चैतन्य एकेडेमी नेपाल बुटवल शाखाले युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले लोकसेवा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । एकेडेमीले आफ्नो नियमित कार्यक्रम अन्तर्गत शिवराज नगरपालिकासँगको सहकार्यमा शिवराज नगरपालिका, कपिलवस्तुका युवाहरूलाई प्रशिक्षण दिएको हो ।
प्रशिक्षण कार्यक्रम परीक्षामा सफल हुन आवश्यक रणनीतिक सिकाइ, लेखाइ अभ्यास तथा तयारीका विधिहरूबारे जानकारी गराईएको थियो । अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका उपसचिव तथा कपिलवस्तु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले लोकसेवाका बहुआयामिक पक्षहरूबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रशासनिक प्रमुख पिताम्बर पाण्डेले नगरपालिकाले उपलब्ध गराएको अवसरको सदुपयोग गर्दै लक्ष्यप्राप्तितर्फ अग्रसर भई सफलता हासिल गर्न सहभागी युवाहरूलाई शुभकामना व्यक्त गरे । प्रशिक्षण कार्यक्रम तीन महिनासम्म सञ्चालन हुने चैतन्य एकेडेमी बुटवलका व्यवस्थापक दीपक ढकालले बताए ।
शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माका अनुसार कार्यक्रममा ५० भन्दा बढी युवाहरू सहभागी भई प्रशिक्षण लिइरहेका छन्।चैतन्य एकेडेमी बुटवलले विगत डेढ वर्षदेखि नासु, खरिदार, बैंकिङ, शिक्षक सेवा, शाखा अधिकृत तथा सुरक्षा निकायसम्बन्धी तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ।
बुटवल शाखा स्थापना भएको छोटो अवधिमै २५ भन्दा बढी विद्यार्थी निजामती सेवामा प्रवेश गर्न सफल भएको व्यवस्थापक ढकालले बताए ।





















