नेपालगन्ज, ८ बैशाख ।
नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीमा आवश्यक कपडा धुने वाशिङ मेसिन सहयोग प्राप्त भएको छ । नेपालगन्ज निवासी स्वर्गीय राजेन्द्रप्रसाद सिंघलको सम्झनामा परिवारले उक्त सहयोग प्रदान गरेको हो ।
बागेश्वरी ट्रेक्टर, कारकाँदोका संचालक स्व. सिंघलकी श्रीमती मीना सिंघल, छोरा सन्दिप सिंघल तथा नाती आदित्य सिंघलले संयुक्त रूपमा समितिका प्रमुख महेश चन्दलाई वाशिङ मेसिन हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै सन्दिप सिंघलले बुवाको स्मृतिमा समाज तथा खेलकुद क्षेत्रका लागि योगदान दिन पाउनु परिवारका लागि गर्वको विषय भएको बताए । उनले यस्ता सामाजिक कार्यले जिम्मेवारीबोध अझ बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि सकारात्मक कार्यहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा समितिका प्रमुख महेश चन्दले खेल क्षेत्रप्रति माया गरेर गरिएको यस्तो सहयोगले खेलकुद गतिविधि थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
हस्तान्तरण कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष नरेन्द्र थापा, प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी ‘सोनु’ लगायतको उपस्थिति रहेको थियो ।






















