गुल्मी,५ वैशाख । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि उडान भर्ने तालिका सार्वजनिक गरेको छ । शनिबारदेखि काठमाडौँबाट गुल्मीको रेसुङ्गा विमानस्थलबाट सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ ।
निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने जनाएको । निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले बताए ।
नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुङ्गाका लागि रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँका लागि रु १० हजार ७०२ निर्धारण गरिएकोे जनाएको छ ।
काठमाडौँबाट आइतबार बिहान ८ः०५ बजे र रेसुङ्गाबाट बिहान ९ः०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट बिहान ६ः१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए । नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ–रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ ।





















