बुटवल,५ वैशाख । बुटवल उपमहानगरपालिको कार्यशैलीप्रति बुटवलका व्यवसायिक संघसंस्थाहरूले आपत्ति जनाएका छन् । स्थानीय व्यवसायीबीच भएको सहमति विपरीत कार्य गरिएको भन्दै उपमहानगरपालिको कार्यशैलीप्रति व्यवसायिक संघसंस्थाहरूले आपत्ति जनाएका हुन् ।
रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली तथा उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा उपमहानगरपालिका र व्यवसायीबीच भएको सहमतिको उल्लंघन भएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। वैशाख ३ गतेदेखि अमरपथ, बीपी चोक, राममन्दिर लाइनलगायतका क्षेत्रमा उपमहानगरपालिकाले केही व्यवसायिक प्रतिष्ठानमा बलपूर्वक कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीहरूका अनुसार पसलका सामानहरु अभिलेख बिना उठाएर लैजाने, क्षति पु¥याउने तथा अस्थायी टहरा र फ्लेक्स साइन बोर्ड समेत जफत गर्ने काम गरिएको र उक्त कार्यले उपमहानगरपालिका र व्यवसायीबीच भएको सहमतिको उल्लंघन भएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
विज्ञप्तिमा व्यवसायीहरूले शहरको सुन्दरताका लागि सहयोग गर्न सबै व्यवसायीलाई आग्रह गर्दै उपमहानगरपालिकासँग स्पष्ट मापदण्ड बनाउन र जफत गरिएका सामान तुरुन्त फिर्ता गर्न माग गरेका छन्।




















