Spread the love
म, काठमाडौंबाट फर्किन नपाउँदै आमाले सदाका लागि छाडेर गइन् । विछोडको पीडा सुनाएर साध्य छैन । करिव ६ महिना जति क्यान्सरबाट पीडित भएपछि आमाले ज्यान गुमाएकी हुन् । भरतपुर क्यान्सर अस्पतालले फर्काएपछि बुटवलमै बस्दै आएकी मेरी आमाले जानबेला मलाई पर्खिनन् । अर्थात् अन्तिम भेट गर्ने अवसर समेत प्राप्त भएन । जीवनभरका लागि यही घिड्किसो रहिरह्यो ।
हाम्री आमाले नौ जना सन्तान जन्माइन् । यतिबेला सातजना हामी जीवित नै छौं । ठूल्दिदी र ठूल्दाइले संसार त्यागि सकेका छन् । हाम्री आमाले औपचारिक कक्षा लिएकी थिइनन् तर अङ्ग्रेजी एबीसीडी खररर पढ्थिन् । गणितका दुनाहरु कण्ठाग्र थिए । जोड, घटाउ त मुखारै थिए । बाबा भने पूर्णरुपमा निरक्षर नै थिए ।
२०३८ सालमा दोभान खोलाले हामीलाई भूमिहीन,घरबारविहीन बनाएपछि हाम्री आमाले गरेको संघर्षको कथा कुनै संघर्षशील महिलाको भन्दा कम्तिको छैन । बाबाआमाले साँचिक्कै हामीलाई पढाइ–लेखाई,औपधोपचार,लत्ताकपडाको जोहो गर्नुपर्ने बाध्यता सामान्य थिएन पनि । सन्तानका लागि अभिभावकको भूमिका प्रशंसनीय नै रहन्छ । आज मातातीर्थ औशी । आमालाई सबैले सम्झिरहेका छन् । तर,मैले मेरी आमालाई जीवनका हरपल सम्झिरहन्छु ।
आमाले पकाएको खीर खाइरहँदा जीवनका सबै पीर बिर्सिन्थें । आमाले पकाएको कलात्मक र स्वादिष्ट सेलरोटीले जीवनका अनेकौं घुम्तिहरु सजिलै काट्ने प्रयत्न गरेको छु । माघेसंक्रान्तिमा आमाले चखाउने खिचडीले कहिलेकाँही मनको कासौंडीमा पाक्ने खिचडीलाई सम्झिरहन्छु । आमाले हामी सबै सन्ताललाईमात्र होइन,बाबालाई समेत तिमी नै भन्थिन् । हामीले पनि बाबाआमालाई तिमी भनेर नै सम्बोधन गथ्र्यौं । हामीमा समानतापूर्ण हार्दिकता थियो ।
आमाले समाजमा हामीलाई बोल्न सिकाइन् । व्यापार गर्न सिकाइन् । समाज चिनाइन् । व्यवहारिक बनाइन् । आफूले औपचारिक शिक्षा हासिल नगरेपनि सबै सन्तानहरुलाई शिक्षाको पारिलो घाम तपाइन् । जीवन जिउने कला सिकाइन् । सायद हामीलाई आमाले नसिकाएको के पो होला र ? त्यसमा हामीले कति सिक्न सक्यौं भन्ने न हो ।
आमासँग हाम्रो नाता रगत,नाल र सालको मात्र होइन । भावना र दूधको समेत हो । भावनाले बुझ्न सिकायो तर दूधको भारा हामीले आमाको कहिल्यै तिर्न सकेनौं,सत्य हो । आमासँग हार्दिकतापूर्ण जीवनका यात्रा गयौं तर दीर्घकालसम्मको सहयात्री बन्न सकेनौं । हामीले आमाबाट सबै कुरा लियौं तर केही पनि दिन सकेनौं ।
आमाका बारेमा लेखिएका हजारौं पुस्तक छन् । ती कविता,कथा,गीत,गजल र उपन्यासका होलान् । तर,जति लेखे पनि आमाको महिमा लेखेर पूरा हुन्न र सकिन्न पनि । त्यसैले मातातीर्थका दिनमात्र सम्झेर आमाप्रतिको समर्पण साकार हुन सम्भव छैन । जीवनको यात्रामा आमाको याद र भावना सँगै रहिरहने छ । आमा कहाँ पुगे होलिन् तर आमाको यादले सताइरहन्छ । कर्तव्यले पछ्याइरहन्छ । भावनाले समाइरहन्छ ।
आमा 
नसकें तिम्रो गुन तिर्न 
नसके तिम्रै समीपमा रहिरहन 
केवल 
भावनाको बादलमा अल्झि रहेकी छ्यौ !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्