काठमाडौं । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा महिलाहरूले बिहानै उठेर नित्यकर्म पूरा गरी नदी, खोला, तालतलैया वा पोखरीमा स्नान गर्ने तथा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने परम्परा छ।
धर्मशास्त्रअनुसार ऋषिपञ्चमीका दिन ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो तथा खरानी प्रयोग गरी स्नान गर्ने परम्परा रहेको छ। यस वर्ष चौथी तिथि टुटेका कारण तीज व्रतको पारायण गरेको भोलिपल्टै ऋषिपञ्चमी परेको भन्दै धर्मशास्त्रीहरूले व्रत पारायणपछि पञ्चमी स्नानलगायत धार्मिक कर्म गर्नुपर्ने बताएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत तथा पूजा महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषिपञ्चमी महिलाका लागि विशेष पर्वका रूपमा वर्णन गरिएको छ।
धार्मिक मान्यताअनुसार रजस्वलाका क्रममा जान–अनजानमा भएका त्रुटि तथा छुईछाइको दोषबाट मुक्तिका लागि ऋषिपञ्चमीमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने चलन छ। स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित सप्तऋषिको पूजा गरिन्छ।
यस्तो छ ऋषिपञ्चमीको धार्मिक पृष्ठभूमि
ऋषिपञ्चमी पर्व महिलाको रजस्वलासँग जोडिएको धार्मिक विश्वाससँग सम्बन्धित छ। प्राचीन कथाअनुसार इन्द्रले विश्वरूपको शिर काटेर हत्या गरेपछि ब्रह्महत्याको दोष भोग्नुपरेको थियो। उक्त दोषबाट मुक्ति दिलाउने क्रममा ब्रह्माले दोषको केही अंश पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिदिएको धार्मिक ग्रन्थमा उल्लेख रहेको पण्डित मधुसुदन सुवेदी बताउँछन्।
यसै धार्मिक विश्वासका आधारमा महिलामा रजस्वलाका क्रममा हुने छुईछाइ तथा अन्य त्रुटिको दोषबाट मुक्ति पाउन ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गर्ने परम्परा विकास भएको मानिन्छ।
यद्यपि, रजस्वलासम्बन्धी परम्परागत मान्यताका कतिपय पक्षलाई आधुनिक स्वास्थ्य तथा वैज्ञानिक दृष्टिकोणबाट समेत अध्ययन गर्नुपर्ने आवश्यकता रहेको सुवेदीको भनाइ छ।
एक छाक हविष्य खाने चलन
ऋषिपञ्चमीका दिन स्नान तथा पूजा–आराधना सम्पन्न गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कलालगायतका परिकार खाई एक छाक हविष्य बस्ने व्रतविधि रहेको छ। ऋषिपञ्चमीको अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा–आराधना गर्ने श्रद्धालु महिलाको भीड लाग्ने गर्छ। मन्दिर जान नसक्ने महिलाले नदी किनार तथा घरमै सप्तऋषिको पूजा तथा आराधना गर्ने गरेका छन्।





















