बुटवल, ३० असोज ।
रुपन्देही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धकधई र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले ओमसतिया गाउँपालिका–६ नारायणपुरमा छापा मारेर कटुवा पेस्तोल बरामद गरेको हो ।
प्रहरीले स्थानीय २३ वर्षीय अमन कुमार धवलको घरमा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने २५ राउन्ड एयरगनका छर्रा बरामद गरेको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा अमन कुमार धवल र सोही स्थानका २० वर्षीय सुनिल केवटलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले अवैध हतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाइएको समेत जनाएको छ ।




















