दाङ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनमा ढिलाई भएको भन्दै राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले ध्यानाकर्षण गराएको छ ।
विहिबार प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ध्यानाकर्षण पत्र बुझाउदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य सुरु नभएको गुनासो गरेको हो ।
संघका अध्यक्ष गोपाल ज्ञवालीले प्रदेशमा प्रसारण कार्यालय भएका टेलिभिजनहरूको संरक्षणका लागि तत्काल कार्यक्रम कार्यान्वयन आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले दिने विज्ञापन अनुदान बापतका टेलिभिजन कार्यक्रमका लागि हालसम्म सम्झौता नभएको उल्लेख गर्दै तत्काल सम्झौता गरी प्रसारण सुनिश्चित गर्न माग गरे । दर्ता भएका टेलिभिजनलाई बेवास्ता गर्दै प्रदेश सभा तथा विभिन्न मन्त्रालयहरूले आफैं कार्यक्रम सञ्चालन गरिरहेको भन्दै त्यस्ता गतिविधि रोक्न र आधिकारिक टेलिभिजनमार्फत मात्र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
संघले विगतमा लुम्बिनी प्रदेश सरकारले गठन गरेको यम बहादुर गाहा (मिलन) नेतृत्वको प्रतिवेदन कार्यान्वयन नभएकोप्रति पनि गम्भीर ध्यानाकर्षण गराउँदै सो प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले संघको ध्यानाकर्षणप्रति सरकार गम्भीर रहेको बताउँदै समस्या समाधानका लागि सरकारले काम गर्ने बताए ।
उक्त भेटमा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतम, राष्ट्रिय टेलिभिजन प्रशारण संघका पूर्व अध्यक्ष नरेश केसी, सहसचिव नवीन घिमिरे लगायतको उपस्थिति लगायतको उपस्थिति रहेको थियो ।





















