फूलमायाको संकल्प !

124
Spread the love

रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं.१३, मड्हा टोलका बासिन्दा हुन् फूलमाया थारू । उमेरले ५६ टेकेका उनले झापाका सत्यनारायण थारुसँग २०४१ सालमा विहे गरेकी थिइन् । १५ वर्षको किशोरी उमेरमा विहे हुँदा कोटीहवाको पशुपति माविमा फूलमायाले कक्षा सात पढ्दै थिईन् । सत्यनाराणसँग विहे गरेपनि फूलमाया यतै माइतीगाउँ मड्हा टोलमा बस्न थालिन् । सत्यनारायणको साथ लिएपछि फूलमायाले एक छोरा र दुई छोरीको साथ प्राप्त गरेकी छिन् । पाँच नातीहरु व्याजका रुपमा पाईसकेकी छिन् ।
कामको खोजीमा पूर्वी नेपालको झापाबाट कोटिहवाको पञ्चकन्या स्टील उद्योगमा आएका सत्यनारायणले फूलमायाको माईतीघरमै अर्थात् ससुरालीमा पो आफ्नो घरजम बसाले । यतिबेला तिलोत्तमा नगरपालिका वडा नं.१३ मड्हा टोलका स्थायी बासिन्दा हुन् उनीहरु । फूलमायाका छोरो र छोरीका विहे भईसके । दुवै छोरीहरु बुटवलमा रहेको भाटभटेनी सुपर मार्केटमा क्यासियर छन् । छोरोले नेपालगञ्जको प्रतिष्ठित हार्डवेयर कम्पनीमा एचआरका रुपमा जागिर गर्दै आएका छन् । राम्रै आम्दानी गरेका छन् । श्रीमान सत्यनारायण भने सुनौली भन्सार नजिकै भन्सार एजेन्ट अफिस खोलेर बसेका छन् ।

झापामा सत्यनारायणहरुको तीन बिघा खेत छ । चार भाइमध्ये उनी जेठा हुन् । यता फूलमायाको माइतीतर्फबाट ढाई बिघा जग्गा मिलेको छ । पाँच/सात कठ्ठाबाहेक सबै अधियाँ दिएका छन् । फूलमाया समाजसेवामा क्रियाशील छिन् । यो उमेरमा झन् गतिशील छिन् । वडा सञ्जाल टोल विकास संस्था,तिलोत्तमा–१३, मड्हाले आयोजना गरेको नेतृत्व विकास तालिममा उनीसँग भेट हुँदा उनले मज्जाले तालिम लिईरहेकी थिइन् । आदिवासी जनजातिहरुका लागि आयोजना गरिएको तीन दिवसीय नेतृत्व विकास तालिमम उनले आफ्नो क्षमता प्रदर्शन गरिरहेकी थिईन ।

मागी विहे गरेकी फूलमायाले आफ्नो अध्ययनलाई पूरा गर्न नसक्दा दुःख लाग्ने गरेको बताईन् । आफैले पढ्ने जाँगर नगरेर नै पढाइ पूरा नभएको उनको तर्क छ । त्यसैले सबै नव युवाहरुलाई समयमै पढ्न र व्यवहारिक ज्ञान सिक्न अनुरोध गर्दै आईरहेकी छिन् । ज्ञानको आँखा नै सबैभन्दा ठूलो आँखा रहेको तालिम सिकाईको क्रममा उनले बताईन् ।
उच्च रक्तचाप र थाईरोइडको नियमित ओखती खाएपनि फूलमाया तन्दुरुस्त छिन् । मिलीजुली सामुदायिक वन,बभनी टोल विकास संस्था र अन्य सामाजिक संघसंस्थाहरुमा उनले अब्बल नेतृत्व गरिरहेकी छिन् । पवित्र मन,स्वच्छ विचार र सधैैं सक्रियतापूर्वक सामाजिक क्रियाकलापमा गतिशील फूलमायाले बाँचुञ्जेल सामाजिक सेवा नै गर्ने संकल्प गरेकी छिन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्