Spread the love

काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविरामको सहमति गरेको समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट आएको छ । बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरले घटेको छ ।

ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज तत्काल र सुरक्षित रूपमा खोल्ने सर्तमा युद्धविराम गर्न राजी भएको बताएपछि लगानीकर्ताहरूले राहत महसुस गरेका हुन् । मे महिनाका लागि डेलिभरी हुने डब्लुटीआई क्रुडको मूल्य १८.१० डलर अर्थात् १६.०२ प्रतिशतले घटेर प्रति ब्यारेल ९४.८५ डलर कायम भएको छ । कारोबारका क्रममा यो मूल्य ९१.०५ डलरसम्म झरेको थियो, जुन मार्च २६ पछिको सबैभन्दा न्यून स्तर हो ।

ट्रम्पले इरानलाई दिएको समयसीमा सकिनु केही समयअघि मात्रै यो घोषणा गरेका थिए । यसअघि उनले इरानले जलमार्ग नखोलेमा त्यहाँको नागरिक पूर्वाधारमाथि भीषण आक्रमण गर्ने र ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुने’ चेतावनी दिएका थिए ।
इरानका विदेशमन्त्री अब्बास अरागाचीले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै यदि इरानमाथिका आक्रमणहरू रोकिएमा आफूहरूले पनि हमला बन्द गर्ने स्पष्ट पारेका छन् । उनले इरानी सशस्त्र बलको समन्वयमा दुई हप्ताका लागि स्ट्रेट अफ हर्मुजबाट सुरक्षित आवतजावत सम्भव हुने बताएका छन् । विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा यही जलमार्गबाट ओसारपसार हुने भएकाले यसको बन्दले विश्व अर्थतन्त्रमै गम्भीर संकट निम्त्याएको थियो ।

इरानसँगको यो युद्धका कारण मार्च महिनामा मात्रै तेलको मूल्य इतिहासमै सबैभन्दा तीव्र गतिमा ५० प्रतिशतभन्दा बढीले बढेको थियो । राष्ट्रपति ट्रम्पले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको र त्यसलाई वार्ताको राम्रो आधार मान्न सकिने बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्