बुटवल, २४ चैत ।
बुटवल हस्पिटल प्रालि र होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ बीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमका बिच सम्झौता पत्रमा बुटवल अस्पतालका जनरल म्यानेजर देवेश कर्ण र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव कुमार खनालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार संघमा आबद्ध होटल तथा रेस्टुरेन्ट व्यवसायी, सञ्चालक तथा कर्मचारीहरूले बुटवल अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउने भएका छन् । संघबाट सिफारिस गरिएका बिरामीहरूलाई अस्पतालमा उपचार गर्दा अपरेशन शुल्कमा १५% छुट, बेड चार्जमा १२% छुट (आईसीयू र भेन्टिलेटर बाहेक), एक्स–रे, भिडियो एक्स–रे, सिटी स्क्यानमा १०% छुट, फिजियोथेरापमा १०% छुट, ल्याब सेवामा १२% छुट तथा फार्मेसीमा ५% छुट प्राप्त गर्ने छन ।
अस्पतालले उपलब्ध गराएको छुट प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आधिकारिक परिचयपत्र वा संस्थाको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको संघका अध्यक्ष माधव कुमार खनालले बताए । यो सम्झौताले रुपन्देही जिल्लाका आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा सहयोग पुग्ने विश्वास लिइएको छ । सम्झौतामा बिरामी डिस्चार्ज हुँदा मात्र सम्झौताबमोजिमको छुट लागू हुने उल्लेख छ ।
साथै अस्पताल बाहिर गरिने जाँच तथा औषधि खरिदमा भने छुट लागू नहुने प्रष्ट पारिएको छ । सम्झौता एक वर्षसम्म कायम रहनेछ भने यसमा उल्लेख नभएका विषयहरू नेपाल सरकारको प्रचलित कानुनअनुसार लागू हुने जनाइएको छ ।





















