बुटवल, २४ चैत ।
प्रख्यात जापानी कराते खेल सामग्री उत्पादन कम्पनी सुरेई दो ले नेपाली करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई दुई वर्षका लागि खेल सामग्री प्रायोजन गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठको पहलमा सम्पन्न सम्झौताअनुसार एरिका गुरुङले प्रत्येक वर्ष ४–४ सेट करातेका आवश्यक खेल सामग्री प्राप्त गर्नेछिन् ।
यस प्रायोजनले एरिका गुरुङको प्रशिक्षण र प्रतिस्पर्धात्मक प्रदर्शनमा थप सहजता आउने विश्वास गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै आएकी गुरुङलाई विश्वस्तरीय सामग्री उपलब्ध गराइनुले उनको खेल यात्रामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
खेल क्षेत्रका जानकारहरूका अनुसार यस्तो सहयोगले नेपाली कराते खेलाडीहरूको मनोबल बढाउने मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शनका लागि थप प्रेरणा पनि प्रदान गर्नेछ ।





















