Spread the love

बुटवल, २३ चैत ।
सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । रुपन्देहीको मायादेवी गाउँपालिका–४ स्थित सुण्डी माध्यमिक विद्यालयले भने पुरस्कारको परम्परागत शैलीभन्दा फरक अभ्यास गर्दै आएको छ । विद्यार्थीले पुरस्कारस्वरूप प्रमाणपत्र मात्र होइन, आर्थिक उपार्जनका लागि सहयोगी हुने भैँसी प्राप्त गर्छन् ।

यो सुन्दा सुरुमा अचम्म लाग्न सक्छ, तर विद्यालयको यो कार्यक्रमले विद्यार्थीको शैक्षिकस्तर सुधार्नुका साथै धेरै परिवारलाई आयको आधार बनेको छ । कक्षा ११ मा अध्ययनरत शिव कुमार यादव यस वर्ष भैँसी पुरस्कार पाउने विद्यार्थीमध्ये एक हुन् । उनका लागि यो भैँसी केवल उपहार मात्र होइन, उच्च शिक्षाका लागि खर्च जुटाउने एउटा भरपर्दो स्रोत बनेको छ । यो भैँसीबाट हुने आम्दानीले पढाइ खर्च धान्न ठूलो मद्दत पुग्ने उनको दाबी छ । उनीजस्तै अन्य विद्यार्थीहरूमा पनि अहिले पढाइप्रतिको लगाव ह्वात्तै बढेको छ । विद्यालयको यो योजनाले विद्यार्थीमा जिम्मेवारीबोध मात्र गराएको छैन, भविष्यप्रति आशावादीसमेत बनाएको छ । दक्षिणी रुपन्देहीका अधिकांश परिवारको मुख्य पेसा कृषि र पशुपालन हो ।

आर्थिक अभावकै कारण बीचमै पढाइ छोड्ने दर यहाँको ठूलो चुनौती थियो । विद्यालयका अनुसार, विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान र प्रशंसा मात्र पर्याप्त थिएन, उनीहरूको पढाइलाई निरन्तरता दिने ठोस आधार चाहिएको थियो । शिक्षालाई जीवन र जीविकोपार्जनसँग जोड्ने अभियान स्वरुप भैसी उपहार ल्याएको विद्यालयका प्रधानाध्यापक केशव पौडेलले बताए । भैँसी पुरस्कारले विद्यार्थीलाई पढाइमा टिकाउन र अभिभावकलाई शिक्षाप्रति सकारात्मक बनाउन राम्रो काम गरेको छ । यो कार्यक्रम सुरु भएपछि विद्यालयको शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आएको छ । आर्थिक कारणले विद्यालय छोड्ने विद्यार्थीहरूको संख्या कम हुँदै गएको छ । भैँसी पाउने लक्ष्य सहित विद्यार्थीहरूबीच कक्षामा उपस्थित हुने र उत्कृष्ट नतिजा ल्याउने प्रतिस्पर्धा बढेको छ । पहिले छोराछोरीलाई खेतबारीको काममा लगाउने अभिभावकहरू अहिले उनीहरूको पढाइमा लगानी र समय दिन थालेका छन् ।

भैँसी पुरस्कार पाउनु त्यति सजिलो भने छैन । विद्यालयले हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्छ । विद्यार्थीहरू समूहगत रूपमा सहभागी हुन्छन् र आफ्नो विश्लेषणात्मक क्षमता प्रदर्शन गर्छन् । उत्कृष्ट हुने पहिलो र दोस्रो समूहका विद्यार्थीलाई भैँसी प्रदान गरिन्छ भने अन्य सहभागीलाई प्रोत्साहित गर्न नगद पुरस्कार दिने व्यवस्था छ । यो अभियानलाई सफल बनाउन दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनको संस्थाले सहयोग गर्दै आएको छ । उनको यो निरन्तर सहयोगले नै विद्यालयले अहिलेसम्म ५१ वटा भैँसी वितरण गरिसकेको छ, जसमध्ये यसै वर्ष मात्रै १० वटा वितरण गरिएको छ । यहीँ पुरस्कार वितरण गर्न हरेक वर्ष उम् होङ गिल दक्षिण कोरियाबाट आफ्ना सहयोगी सहित हरेक वर्ष आउने गरेका छन् । आफूले सहयोग गरेको पुरस्कार उपयोगी भएको देख्दा उनी दंग छन् । सुण्डी माध्यमिक विद्यालयको यो अभ्यासले मानिसको आधारभूत आवश्यकता र आम्दानीसँग शिक्षालाई जोड्दा समाजमा दिगो परिवर्तन ल्याउने सिकाई दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्