Spread the love

लुम्बिनी, २३ चैत्र । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन हुने भएको छ । नेपाल जीन बैंक, डब्लुडब्लुएन र डब्लुडब्लुएफ नेपालको संयुक्त आयोजनामा तथा रकफेलर फाउन्डेसनको आर्थिक सहयोगमा चैत्र २३ गतेदेखि २५ गतेसम्म चल्ने सम्मेलनको तयारी पुरा भएको प्रेस विज्ञप्तमार्फत विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा नेपाल, भारत र भुटानका करिब १२० जना अनुसन्धानकर्ता सहभागी हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य कृषिप्रणालीमा रूपान्तरणकारी परिवर्तनका विषयमा प्राज्ञिक बहस र क्षेत्रीय सहकार्य सुदृढ गर्नु रहेको छ । सम्मेलनमा स्वदेशी ज्ञान, कृषि–पर्यावरणीय दृष्टिकोण र पुनरुत्थानात्मक अभ्यासहरूको एकीकरणमार्फत दिगो तथा प्रकृतिमैत्री कृषिप्रणाली विकासका विषयलाई प्राथमिकतामा राखिएको छ। सहभागीहरूले कृषि जैविक विविधता संरक्षण, जलवायु अनुकूल कृषि, र परम्परागत ज्ञान प्रणालीको संरक्षणबारे गहन छलफल गर्नेछन् ।

कार्यक्रमले संस्कृति, धार्मिक मूल्य, जैविक विविधता, पानी, ऊर्जा, वातावरण, भूमि र सामाजिक प्रणालीसहितका १० अन्तरसम्बन्धित पक्षलाई समेट्दै कृषि प्रणालीलाई व्यापक रूपमा पुनःपरिभाषित गर्ने लक्ष्य लिएको छ । विज्ञहरूका अनुसार कृषि केवल खाद्य उत्पादनमा सीमित नभई स्वास्थ्य, पोषण, वातावरण र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको बहुआयामिक प्रणाली हो ।

सम्मेलनमा मुख्य मन्तव्य, कार्यपत्र प्रस्तुति, प्यानल छलफल, प्रदर्शनी, पोस्टर प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै “बुद्ध थाली” जस्ता परम्परागत भोजनमार्फत स्थानीय खाद्य प्रणालीको प्रवद्र्धन गरिने आयोजकले जनाएको छ ।

आधुनिक कृषि प्रणालीले उत्पादन वृद्धि गरे पनि माटोको क्षय, जैविक विविधताको ह्रास र परम्परागत ज्ञानको क्षरण जस्ता समस्या निम्त्याएको भन्दै सम्मेलनमा यी विषयहरूमा पनि विशेष बहस हुने बताइएको छ । गहन पुनरुत्थानशील कृषि अवधारणामार्फत माटो, पानी, हावा र जैविक विविधताको पुनस्र्थापना गर्दै सहनशील कृषि प्रणाली विकासमा जोड दिइनेछ । सम्मेलनबाट क्षेत्रीय घोषणापत्र जारी गर्दै स्थानीय आनुवंशिक स्रोतहरूको संरक्षण, नीतिगत सुधार, बजार पहुँच विस्तार तथा सरोकारवालाबीच सहकार्य अभिवृद्धिका प्रतिबद्धता सार्वजनिक गरिनेछ ।

यस सम्मेलनलाई नेपालका हिमाली क्षेत्रमा सञ्चालन भइरहेको गहन पुनरुत्थानशील कृषि परियोजनाको महत्वपूर्ण हिस्सा मानिएको छ । आयोजकका अनुसार सम्मेलनले क्षेत्रीय सहकार्य विस्तार, नीतिगत सुझाव विकास तथा दिगो कृषि प्रणाली निर्माणमा ठोस योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्