काठमाडौं,१४ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । प्रारम्भिक जाँचपछि उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
आज बिहान पक्राउ परेपछि उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’ अन्तर्गत २७ नम्बर बेडमा राखेर परीक्षण गरिएको थियो। नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले उनको स्वास्थ्य अवस्था जाँच गरेका थिए भने मुटु सम्बन्धी विशेषज्ञहरूले पनि परीक्षण गरेका थिए ।
रगत जाँच, भिडियो एक्सरे लगायतका विभिन्न परीक्षणपछि उनलाई एनेक्स वानमा सारिएको हो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले उनलाई आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो। आज शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई आइतबार मात्र अदालतमा पेस गर्ने तयारी गरिएको छ।





















