बुटवल, ११ फागुन ।
रुपन्देहीको लन टेनिस खेल विकाससँगै नयाँ पुस्ताका खेलाडी उत्पादनमा युवा प्रशिक्षक विकास खड्काको भूमिका महत्वपूर्ण छ । बिसं २०७१ सालदेखि बुटवललाई कर्मथलो बनाएका खड्का अहिले जिल्लामा टेनिस प्रशिक्षण र प्रवद्र्धनको प्रमुख अनुहारका रूपमा चिनिन्छन् । अन्य खेलको तुलनामा लनटेनिस महङो खेल मानिन्छ । १३ वर्षको उमेरमा उनि यही खेलमा लागे, खेलाडीको रुपमा । दाजु दिपेन्द्र खड्काको खेलप्रतिको मोह र मायाकै कारण आफु खेलमा आएको उनि स्मरण गर्छन । ‘दाजु खड्काले मलाई यो खेलमा लाग्न प्ररित गर्नुभयो ।’– उनले भने ।
उनि पहिलोपटक रयाकेट बोकेर सातदोबाटो टेनिस कोर्टमा पुग्दा नेपालका चर्चित खेलाडीहरुलाई कोर्टमा भेटेको उनको स्मरणमा ताजै छ । अग्रज खेलाडीहरु जितेन्द्र परियार, कुमार अधिकारी, प्रिति रिजाल, मालिका राणा, रमेश कार्की, कमल भण्डारीलाई मैदानमा थिए । उनलाई टेनिस खेलको कखरा भने श्यामकृष्ण जिसीले सिकाए । काठमाण्डौमा करीब ८ वर्षको अथक मेहनत र परिश्रमकै कारण अहिले विकास बन्न सफल भएको उनि ठान्छन । यो अवधिमा उनि जुनियर प्रतियोगिताहरुमा भाग लिए । केहीमा सफलता हासिल गरे केहीमा अनुभव । लुम्बिनी ओपन टेनिस प्रतियोगिता २०७२, राष्ट्रिय खेलकुद परिषदको २०७१ मा ओपन टुर्नामेन्टमा आर्मीको टिमबाट उनि स्वर्ण पदक जिते । उनि खेल खेल्नुका साथै प्राविधिक पक्षमा पनि उत्तिकै ध्यान दिन्थे । करीब एक दशकको खेल जिवनकै क्रममा उनि प्रशिक्षणमा समेत अग्रसर रहे ।
बिहानदेखि साझ अबेरसम्म कोर्टमा बिताउछन । पाच वर्षदेखि ५५ वर्ष उमेर समुहका खेलाडीहरु नियमित खेल सिकाउछन । खेल खेल्दै र प्रशिक्षण दुबै कार्यमा उनको निरन्तर योगदान रह्यो । उनि रुपन्देहीमा युवा खेलाडीहरुलाई खेल सिकाउदै आएका छन । स्वदेशसंगै उनि विभिन्न देशमा प्रशिक्षणको अनुभव बटुलेका छन । ‘खेलबाटै स्पेन, अष्ट्रेलिया, हङकङ, ईण्डोनेसिया, श्रीलंका, भारत, माल्दिभ, थाईलैण्ड, सिगापुरमा कोच कन्फ्रेन्समा सहभागी भए ।’–उनले भने । सन २०१६ मा नेपालका राष्ट्रिय जुनियर खेलाडीलाई बैकक लगेका थिए । यसका साथै धेरै पटक उनि खेलाडीहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउन लगेका छन । यसैगरि प्रोफेसनल टेनिस ईनिसेट (पिटिआर) तालिमसमेत गरेको उनले गरे ।
अहिले उनि न्यु होराइजन विद्यालयका कोच, रुपन्देही लन टेनिस संघका कोच, श्री सैनिक आवासीय महाविद्यालय बुटवलका हेड कोच तथा आर्मी अफसर क्लबका कोचको जिम्मेवारी सम्हालिरहेका छन् । विभिन्न संस्थामा एकसाथ रहेर प्रशिक्षण दिँदै आएका खड्काले टेनिसलाई विद्यालय तहदेखि नै स्थापित गर्ने प्रयास गरिरहेका छन् । यही खेलबाट उनि आफ्नो भविष्य बनाउन सफल भएका छन । उनले सयौ खेलाडीहरु उत्पादन गरेका छन ।
उनको प्रशिक्षण शैली अनुशासन, नियमित अभ्यास र खेलाडीको व्यक्तिगत क्षमताको विकासमा केन्द्रित देखिन्छ । बालबालिकादेखि युवासम्मका खेलाडीलाई लक्षित गर्दै उनले आधारभूत सीपदेखि प्रतिस्प्रर्धात्मक तयारीसम्मको प्रशिक्षण प्रदान गर्दै आएका छन् । यसै कारण पछिल्लो समय रुपन्देहीबाट विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम खेलाडीहरू उत्पादन हुन थालेका छन् ।
खड्काले टेनिसलाई केवल खेल मात्र नभई स्वस्थ जीवनशैलीको माध्यमका रूपमा पनि अघि बढाएका छन् । उनले अभिभावक र विद्यालयसँग सहकार्य गर्दै टेनिसप्रति आकर्षण बढाउने काम गरेका छन् । स्थानीय स्तरमा नियमित प्रशिक्षण र प्रतियोगिताको वातावरण तयार पार्नुमा उनको योगदान महत्वपूर्ण मानिन्छ ।
रुपन्देहीमा टेनिसको बढ्दो लोकप्रियतासँगै विकास खड्काजस्ता प्रशिक्षकको भूमिका अझ आवश्यक बन्दै गएको छ । सीमित स्रोत–साधनका बीच पनि निरन्तर मेहनत र समर्पणका साथ काम गरिरहेका उनी जस्ता प्रशिक्षककै कारण जिल्लामा टेनिसको भविष्य उज्ज्वल देखिन्छ । बिसं २०७५ मा बुटवलमा पहिलो राष्ट्रियस्तरको लनटेनिस प्रतियोगिता भएको थियो । यो प्रतियोगिताले निरन्तरता पाएको छ । गतवर्ष सातौ संस्करणसम्म आईपुग्दा यो प्रतियोगितामा उनि खेलाडी, प्रशिक्षणमात्र होईन प्राविधिक पक्षबाट समेत योगदान दिदै आएका छन ।




















