बुटवल, ११ चैत ।
बुटवलस्थित सिद्धबाबा हस्पिटलमा मृगौला रोग उपचार क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । हस्पिटलका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतको नेतृत्वमा रहेको चिकित्सक टोलीले ४३ वर्षीया बिरामी मनकला हितानको शरीरमा सफलतापूर्वक ‘पर्मानेन्ट हेमोडायलाइसिस क्याथेटर’ प्रत्यारोपण गरेको हो ।
मृगौला फेल भई नियमित डायलाइसिस गराइरहेकी बिरामीको रगत शुद्धिकरण प्रक्रियालाई सुरक्षित र सहज बनाउन यो आधुनिक प्रविधि अपनाइएको चिकित्सकहरूले जनाएका छन् । ‘पर्मानेन्ट क्याथेटर’ छातीको छालामुनि सुरक्षित रूपमा राखिने भएकाले संक्रमणको जोखिम कम हुने र दीर्घकालीन रूपमा डायलाइसिस गर्न सहज हुने डा. बस्नेतले जानकारी दिए । उनका अनुसार अस्थायी क्याथेटरको तुलनामा यो प्रविधि बढी सुरक्षित र प्रभावकारी मानिन्छ ।
हस्पिटलका प्रशासन प्रमुख प्रकाश न्यौपानेले अस्पतालमा मृगौला उपचारको आधुनिक र गुणस्तरीय सेवा विस्तार गर्दै आएको बताए । यसअघि यस्ता जटिल सेवाका लागि बिरामीहरूलाई काठमाडौं वा भारतसम्म जानुपर्ने बाध्यता रहेकामा अब बुटवलमै सेवा उपलब्ध हुनु स्थानीयका लागि राहतको विषय भएको उनले दाबी गरे । उनले स्थानीय बिरामीलाई सुलभ दरमा विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यअनुसार काम भइरहेको उल्लेख गरे ।
हस्पिटलले आगामी दिनमा मृगौला रोगको पहिचान, डायलाइसिस तथा उन्नत उपचार सेवा अझ विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।






















