डोल्पा, १० चैत ।
रगत ब्यवस्थापनमा योगदान दिदै आएको नेपाल स्वयंसेवी रक्तदाता समाजको डोल्पा जिल्ला शाखा गठन भएको छ । समाजको यो ४५ औ शाखा हो । स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता राजन कुमार डाँगीको अध्यक्षतामा समाजको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जसको उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक, कोषाध्यक्षमा मिनराज बुढा चयन भएका छन् । सदस्यहरूमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नविनकुमार शाही, रूपलाल बोहोरा, आनन्द सिंह रावल, चन्द्रराज बुढा छन् । नवनिर्वाचित अध्यक्ष राजन कुमार डाँगीले समाजमार्फत दुर्गम क्षेत्रमा रक्तदानसम्बन्धी सचेतना अभिवृद्धि गर्ने प्रतिवद्धता जनाए ।
दुनैमा शनिबार आयोजित कार्यक्रमको समाजका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले उद्घाटन गर्दै रक्तदान र युवाको सहभागीताबारे जानकारी दिए । समुदायमा रक्तदाता बढाउने गरि सचेतना अभियानमा बढीभन्दा बढी युवाहरुको सहभागीता गराउन उनले सुझाव दिए ।
कार्यक्रममा डोल्पा जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिजन रावलको समन्वय भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेल, नेपाली सेनाका गुल्म सेनानी डा. अनय प्रसाद पाण्डे, दीपक राज भट्ट र सुवास रानाले शुभकामना ब्यक्ति गरे ।





















